close

तपाईं अझै सिङ्गल हुनुहुन्छ ? यस्ता छन् जोडी मिलाइदिने चर्चित डेटिङ एप

टेकपाना टेकपाना

फागुन २, २०७९ १८:४७

तपाईं अझै सिङ्गल हुनुहुन्छ ? यस्ता छन् जोडी मिलाइदिने चर्चित डेटिङ एप

काठमाडौं  । आज फेब्रुअरी १४, अर्थात् प्रेमी-प्रेमिकाले एक आपसमा माया र सद्‌भाव साट्ने पर्व । जोडी नहुनेहरूका लागि भने यो दिनले खासै अर्थ राख्दैन ।

यसो त कोसँग कतिबेला कसरी प्रेम बस्छ भन्न सकिँदैन । तर, डिजिटल युगमा धेरैको जोडी सामाजिक सञ्जाल तथा विभिन्न डेटिङ एपले मिलाइदिन्छन् । 

त्यसैले तपाईँले पनि आफ्नो जोडी खोज्ने उपयुक्त प्लेटफर्म वा ठाउँ खोजिरहनु भएको छ भने हामी त्यस्ता डेटिङ एप/वेबसाइटबारे चर्चा गर्दैछौँ, जसले उपयुक्त जोडी मिलाइदिन सक्छन् ।

१. टिन्डर

इन्टरनेटमा सर्वाधिक रुचाइएको डेटिङ एप हो, टिन्डर । यो एप दक्षिण एसियाका विभिन्न देशसहित १९७ देशमा उपलब्ध छ, जसमा सात करोड ५० लाख बढी सक्रिय प्रयोगकर्ता छन् ।

एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर टिन्डर एप डाउनलोड गर्न सक्नुहुन्छ ।

२. बम्बल

नयाँ साथी बनाउने वा भेट्ने चाहना राख्नेहरूका लागि बम्बल उपयोगी डेटिङ एप हो । मासिक चार करोड ५० लाख सक्रिय प्रयोगकर्ता रहेको यस एपमा अधिकांश प्रयोगकर्ता अमेरिकाका छन् ।

भारत, बेलायत, जर्मनी र ब्राजिलमा पनि यस एपका लाखाैं प्रयाेगकर्ता छन् । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् ।

३. ओकेक्युपिड (OkCupid)

प्रयोगकर्ताको चाहना र व्यक्तित्वका हिसाबले जोडी खोजिदिने ओकेक्युपिड पनि इन्टरनेटमा चर्चित मध्येको एक डेटिङ एप हो । ओकेक्युपिडमा कुनै समय नाै करोड बढी सक्रिय प्रयोगकर्ता थिए । अहिले यस एपमा पाँच करोड बढी प्रयोगकर्ता छन् ।

सबैभन्दा बढी डेटिङ गराउने एपका रूपमा परिचित ओकेक्युपिडमा आफू अनुकूलका साथी पाउन सकिन्छ । ओकेक्युपिड डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

४. शादी डटकम

जीवनसाथी खोज्ने अर्को उपयुक्त प्लेटफर्म हो शादी डटकम । भारतमा विकास भएकाे यस एपका अधिकांश प्रयोगकर्ता एसियाली राष्ट्रबाट छन् । सशुल्क र निःशुल्क रूपमा पाउन सकिने एपमा हाम्रै रहनसहनका व्यक्ति भेटिन सक्छन् ।

शादी डटकममा वेबसाइट, एन्ड्रोइड एप तथा आईओएस एपबाट जोडिन सकिन्छ । 

५. क्वाकक्वाक (QuackQuack)

क्योकक्योक डेटिङ एप म्याच, च्याट र डेटमा आधारित छ । यो एपले तपाईँको सहरमा उपलब्ध सिङ्गल व्यक्तिहरूको प्रोफाइललाई आपसमा म्याच गराउन सहयोग गर्दछ । यो एपमा प्रयोगकर्ताको प्रोफाइल भेरिफाइ गरिन्छ ।

त्यसपछि यो एपको सहयोगमा आफ्नो प्रेमी प्रेमिका खोज्न तथा डेटिङका लागि अगाडि बढ्न सकिन्छ । 

६. ऐसल (Aisle) 

डेटिङ एपको रुपमा ऐसल पछिल्लो समय निकै लोकप्रिय हुँदै गएको छ । यो एपमा राइट अर्थात दायाँतर्फ स्वाइप गरेर साथीको सुरुवात गर्न सकिन्छ ।

यो एपको सहयोगमा तपाईँ अन्य व्यक्तिहरूसँग कुराकानी गर्न र साथी बन्न सक्नुहुन्छ । साथै सहमति जुटेको अवस्थामा डेटिङ समेत गर्न सक्नुहुन्छ ।

७. बिहे नेपाल

बिहे नेपाल केही समयअघि बजारमा आएको नेपाली डेटिङ एप हो । यसका माध्यमबाट प्रयोगकर्ताले उपयुक्त व्यक्तिलाई साथी बनाएर डेट बस्न सक्छन् । विशेषगरी बिहे गर्न इच्छुक प्रयोगकर्ताका लागि तयार पारिएको भएपनि प्रेमी वा प्रेमिका खोज्न चाहनेका लागि यो एप उपयुक्त हुन सक्छ ।

छोटो समयमै ५० हजार बढी डाउनलोड संख्या पुगेको यो एपबाट जोडी पाउन सकिने कम्पनीको दाबी छ । एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ  क्लिक गरेर एप डाउनलोड गर्न सक्छन् । 

यसो त नेपालमा अरु डेटिङ एप/वेबसाइट नभएका होइनन् । तर, केहीमा लगइन गर्नै सकस पर्छ भने केहीमा युजर इन्टरफेस झन्झटिलो छ । पञ्चेबाजा, बिहेबारी, नेपाली मट्रिमोनी, एस्ट्राेपड, एस्टर सीएलआईक्यू जस्ता एपबारे चर्चा हुने गरेपनि यी प्लेटफर्ममा प्रयाेगकर्ता र फिचर सीमित छन् ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १९:१७