close

विदेशमा रहेका नेपालीले नेपाल बैंकमा अनलाइन खाता खोली आईपीओ भर्ने तरिका

टेकपाना टेकपाना

फागुन ४, २०७९ २०:१०

विदेशमा रहेका नेपालीले नेपाल बैंकमा अनलाइन खाता खोली आईपीओ भर्ने तरिका

काठमाडौं । नेपालकै पहिलो बैंकको रूपमा रहेको नेपाल बैंक लिमिटेडले विदेशमा रहेका नेपालीहरूका लागि विशेष सुविधा ल्याएको छ । बैंकले अनलाइनबाटै खाता खोली आईपीओ समेत भर्न सकिने गरी नयाँ सुविधा सुरु गरेको हो ।

तर आईपीओका लागि आवेदन दिनुभन्दा ठीक छ महिना अघिसम्मको अवधिभित्र न्यूनतम् ५० हजार रुपैयाँसम्मको रेमिटेन्स रकम भने उक्त खातामा जम्मा गरेको हुनुपर्नेछ । बैंकका अनुसार अन्यथा अवस्थामा आईपीओ भर्नका लागि योग्य मानिने छैन ।

त्यस्तै बाह्य देशबाट प्राप्त हुने विप्रेषण रकम, रेमिट्यान्स मुद्दती खाताको सावा तथा ब्याज र सरकारी निकायबाट प्राप्त भएको रकम बाहेक अन्य रकम यस्तो खातामा जम्मा गर्न समेत पाइने छैन । 

नेपाल बैंकमा अनलाइनबाटै कसरी खोल्ने खाता ? 

यसका लागि सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् र उपलब्ध खाताका प्रकार मध्ये कुनै एक छनौट गरी अप्लाईमा थिचेर खाता खोल्न अगाडि बढ्नुहोस् ।  अनलाइन खाता खोल्दा नागरिकता, पासपोर्ट, श्रम स्वीकृति स्क्यान गरी अपलोड गर्नुपर्ने हुन्छ । 

साथै यहाँ क्लिक गरी केवाईसी (Know Your Customer) फाराम तथा दस्तखत नमुना कार्ड (Specimen Signature Card) डाउनलोड गरी दस्तखत सहित अपलोड गर्नुपर्ने हुन्छ । अनलाइन खाता खोल्दा ग्राहकले सम्पूर्ण विवरण भरी पेश गरिसकेपछि विवरण रुजु गरी बैंकले खाता खोल्नेछ र ईमेलमार्फत ग्राहकलाई त्यसको जानकारी प्राप्त हुनेछ । 

यसरी खोल्नुहोस् डिम्याट खाता

अनलाइन खाता खोलिसकेपछि सोही आधारमा यहाँ क्लिक गरी तल दिइएको अप्लाई बटनमा थिचेर अनलाइन डिम्याट खाताका लागि आवेदन पेश गर्न सकिन्छ । साथै सीआरएन रजिस्ट्रेसन मेरो शेयर रजिस्ट्रेसनका लागि यहाँ क्लिक गरी फाराम डाउनलोड गरी दस्तखत सहित खाता खोल्दा प्रयोग भएको आधिकारिक ईमेल मार्फत बैंकमा पेश गर्नुपर्नेछ ।

ग्राहकले यसरी खोलिएको खातामार्फत आईपीओका लागि आवेदन दिई शेयर बाँडफाँडमा परेको खण्डमा शेयर बापतको रकम तथा सो सम्बन्धी शुल्कहरू बैंकले खाताबाट कट्टा गर्नेछ । त्यस बाहेक ग्राहक स्वयम् बेंकमा उपस्थित नभएसम्मको लागि उक्त खाताबाट रकम निकाल्न पाइने छैन । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ २०:१०