अन्य सबैले इन्टरनेट बजार विस्तार गर्दा भएकै ग्राहक गुमाउँदै नेपाल टेलिकम
फागुन १५, २०७९ १७:४३
काठमाडौं । इन्टरनेट सेवाको प्रयोग बढ्दै जाँदा सेवा प्रदायकहरूबीच नयाँ ग्राहक बढाउने र प्रतिस्पर्धी कम्पनीको बजार खोस्ने होड नै चलेको छ । यस्तोमा प्रायः सबैजसो इन्टरनेट सेवाप्रदायकले ग्राहक सङ्ख्या बढाइरहेका छन् ।
तर सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने पहिलो पटक आफ्ना भएकै इन्टरनेट ग्राहक समेत जोगाउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार अन्य सबै कम्पनीहरूले इन्टरनेट ग्राहक बढाउँदै आइरहेकोमा टेलिकमले भने गएको एक वर्ष वर्षको अवधिमा १९ हजार २५ ग्राहक गुमाएको देखिन्छ ।
गत वर्ष तीन लाख आठ हजार ७९१ ग्राहक रहेको कम्पनीमा यस वर्षको कात्तिकसम्ममा घटेर दुई लाख ८९ हजार ७६६ ग्राहक सीमित हुन पुगेका छन् ।
इन्टरनेट सेवाप्रदायकहरूको ग्राहक आधार
|
सेवाप्रदायक |
२०७५ |
२०७६ |
२०७७ |
२०७८ |
२०७९ |
|
वर्ल्डलिङ्क |
251954 |
338,054 |
422,199 |
550579 |
702998 |
|
भायानेट |
60325 |
90,011 |
123,712 |
155769 |
248498 |
|
सुबिसु |
58,737 |
98,023 |
168,890 |
243733 |
243121 |
|
नेपाल टेलिकम |
207,508 |
233,289 |
269,192 |
308791 |
289766 |
|
क्लासिक टेक |
40669 |
81,515 |
115,876 |
188303 |
253752 |
|
वेब सर्फर |
15,517 |
18,839 |
29,671 |
74042 |
117889 |
|
डिशहोम |
0 |
0 |
0 |
38474 |
183558 |
|
सीजीनेट |
0 |
0 |
0 |
5721 |
39506 |
|
अन्य |
94119 |
115521 |
170584 |
271752 |
365937 |
|
कूल |
728829 |
975,252 |
1,300,124 |
1837164 |
2445025 |
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
निजी कम्पनीमा ग्राहक गुमाउने सुबिसु एक्लो
बजारमा सेवाप्रदायकबीच प्राइस वार तथा स्पिड वार चल्दा निजी इन्टरनेट सेवाप्रदायक सुबिसुले पनि आफ्नो बजार गुमाएको छ । गत वर्ष ४४ प्रतिशतले नयाँ ग्राहक वृद्धि गरेको कम्पनीले यस वर्ष भने ६१२ ग्राहक गुमाएको हो ।
यद्यपि प्रतिशतको हिसाबले यो शून्य दशमलव २५ प्रतिशत मात्रै हो । अन्य प्रतिस्पर्धीले दोहोरो-तेहरो अङ्क प्रतिशतमा बजार विस्तार गरिरहँदा सुबिसुका लागि यो राम्रो सङ्केत भने अवश्य पनि होइन ।
सबैभन्दा छिटो बजार विस्तार गर्नेमा सीजी र डिशहोम
सेवाप्रदायकहरू मध्ये तेहरो अङ्क प्रतिशतमा ग्राहक विस्तार गर्नेमा सीजीनेट र डिशहोम गरी दुई ओटा कम्पनी मात्रै छन् । २०७८ कात्तिकमा पाँच हजार ७२१ ग्राहक रहेको सीजीले पाँच गुणाभन्दा बढी अर्थात ५९०.५४ प्रतिशतले बजार विस्तार गर्दै ग्राहक आधार ३९ हजार ५०६ पुर्याएको छ ।
त्यस्तै गत वर्ष ३८ हजार ४७४ ग्राहक रहेको डिशहोम फाइबरनेटले ३७८ प्रतिशतको वृद्धिमार्फत ग्राहक सङ्ख्या एक लाख ८३ हजार ५५८ पुर्याएको छ ।
नयाँ ग्राहक थप्नेमा वर्ल्डलिङ्क अझै नम्बर वान
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक विस्तार गत वर्षको तुलनामा झन्डै तीन प्रतिशतले खस्किएको छ । यद्यपि नयाँ थपिन ग्राहक सङ्ख्याको हिसाबले भने कम्पनी अझै नम्बर वानमा नै रहेको छ ।
वर्ल्डलिङ्कले २०७८ कात्तिकदेखि यताको एक वर्षमा एक लाख ५२ हजार ४१९ नयाँ ग्राहक थप गरेको छ । जब कि दोस्रो धेरै नयाँ ग्राहक बनाउने डिशहोममा एक लाख ४५ हजार ८४ थप ग्राहक जोडिएका छन् ।
त्यसपछि क्रमशः भायानेटमा ९२ हजार ७२९, क्लासिक टेकमा ६५ हजार ४४९, वेबसर्फरमा ४३ हजार ८४७ र सीजीनेटमा ३३ हजार ७८५ नयाँ ग्राहक थपिएको देखिन्छ । समग्रमा गएको एक वर्षमा ३३ प्रतिशत अर्थात छ लाख सात हजार ८६१ ओटा नयाँ ग्राहक इन्टरनेट सेवामा थपिएका छन् ।
पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १७:४३
