काठमाडौं । इन्टरनेट सेवाको प्रयोग बढ्दै जाँदा सेवा प्रदायकहरूबीच नयाँ ग्राहक बढाउने र प्रतिस्पर्धी कम्पनीको बजार खोस्ने होड नै चलेको छ । यस्तोमा प्रायः सबैजसो इन्टरनेट सेवाप्रदायकले ग्राहक सङ्ख्या बढाइरहेका छन् ।
तर सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भने पहिलो पटक आफ्ना भएकै इन्टरनेट ग्राहक समेत जोगाउन सकेको छैन । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार अन्य सबै कम्पनीहरूले इन्टरनेट ग्राहक बढाउँदै आइरहेकोमा टेलिकमले भने गएको एक वर्ष वर्षको अवधिमा १९ हजार २५ ग्राहक गुमाएको देखिन्छ ।
गत वर्ष तीन लाख आठ हजार ७९१ ग्राहक रहेको कम्पनीमा यस वर्षको कात्तिकसम्ममा घटेर दुई लाख ८९ हजार ७६६ ग्राहक सीमित हुन पुगेका छन् ।
इन्टरनेट सेवाप्रदायकहरूको ग्राहक आधार
सेवाप्रदायक
२०७५
२०७६
२०७७
२०७८
२०७९
वर्ल्डलिङ्क
251954
338,054
422,199
550579
702998
भायानेट
60325
90,011
123,712
155769
248498
सुबिसु
58,737
98,023
168,890
243733
243121
नेपाल टेलिकम
207,508
233,289
269,192
308791
289766
क्लासिक टेक
40669
81,515
115,876
188303
253752
वेब सर्फर
15,517
18,839
29,671
74042
117889
डिशहोम
0
0
0
38474
183558
सीजीनेट
0
0
0
5721
39506
अन्य
94119
115521
170584
271752
365937
कूल
728829
975,252
1,300,124
1837164
2445025
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
निजी कम्पनीमा ग्राहक गुमाउने सुबिसु एक्लो
बजारमा सेवाप्रदायकबीच प्राइस वार तथा स्पिड वार चल्दा निजी इन्टरनेट सेवाप्रदायक सुबिसुले पनि आफ्नो बजार गुमाएको छ । गत वर्ष ४४ प्रतिशतले नयाँ ग्राहक वृद्धि गरेको कम्पनीले यस वर्ष भने ६१२ ग्राहक गुमाएको हो ।
यद्यपि प्रतिशतको हिसाबले यो शून्य दशमलव २५ प्रतिशत मात्रै हो । अन्य प्रतिस्पर्धीले दोहोरो-तेहरो अङ्क प्रतिशतमा बजार विस्तार गरिरहँदा सुबिसुका लागि यो राम्रो सङ्केत भने अवश्य पनि होइन ।
सबैभन्दा छिटो बजार विस्तार गर्नेमा सीजी र डिशहोम
सेवाप्रदायकहरू मध्ये तेहरो अङ्क प्रतिशतमा ग्राहक विस्तार गर्नेमा सीजीनेट र डिशहोम गरी दुई ओटा कम्पनी मात्रै छन् । २०७८ कात्तिकमा पाँच हजार ७२१ ग्राहक रहेको सीजीले पाँच गुणाभन्दा बढी अर्थात ५९०.५४ प्रतिशतले बजार विस्तार गर्दै ग्राहक आधार ३९ हजार ५०६ पुर्याएको छ ।
त्यस्तै गत वर्ष ३८ हजार ४७४ ग्राहक रहेको डिशहोम फाइबरनेटले ३७८ प्रतिशतको वृद्धिमार्फत ग्राहक सङ्ख्या एक लाख ८३ हजार ५५८ पुर्याएको छ ।
नयाँ ग्राहक थप्नेमा वर्ल्डलिङ्क अझै नम्बर वान
देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कको ग्राहक विस्तार गत वर्षको तुलनामा झन्डै तीन प्रतिशतले खस्किएको छ । यद्यपि नयाँ थपिन ग्राहक सङ्ख्याको हिसाबले भने कम्पनी अझै नम्बर वानमा नै रहेको छ ।
वर्ल्डलिङ्कले २०७८ कात्तिकदेखि यताको एक वर्षमा एक लाख ५२ हजार ४१९ नयाँ ग्राहक थप गरेको छ । जब कि दोस्रो धेरै नयाँ ग्राहक बनाउने डिशहोममा एक लाख ४५ हजार ८४ थप ग्राहक जोडिएका छन् ।
त्यसपछि क्रमशः भायानेटमा ९२ हजार ७२९, क्लासिक टेकमा ६५ हजार ४४९, वेबसर्फरमा ४३ हजार ८४७ र सीजीनेटमा ३३ हजार ७८५ नयाँ ग्राहक थपिएको देखिन्छ । समग्रमा गएको एक वर्षमा ३३ प्रतिशत अर्थात छ लाख सात हजार ८६१ ओटा नयाँ ग्राहक इन्टरनेट सेवामा थपिएका छन् ।