close

गिफ्ट र जागिरको लोभ देखाएर सामाजिक सञ्जालमार्फत २३ लाख ठग्ने २ जना पक्राउ

टेकपाना टेकपाना

फागुन १५, २०७९ १७:६

गिफ्ट र जागिरको लोभ देखाएर सामाजिक सञ्जालमार्फत २३ लाख ठग्ने २ जना पक्राउ

काठमाडौं । बेलायतमा रोजगारी मिलाइदिन्छु तथा गिफ्ट पठाइदिन्छु भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा २७ वर्षीय भारतीय नागरिक सुदिश कुमार साह र काभ्रेकी २५ वर्षीया सुनिता परियारलाई पक्राउ गरेको हो ।

सुदिशले पीडितलाई सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, भाइबर र टिकटक प्रयोग गरेर आफू मलेसियाको नागरिक हो भन्दै साथी बनाएका थिए । पीडितका अनुसार उनले आफू डेन्टिस्टको रुपमा बेलायतमा काम गरिरहेको भन्दै झुकाएर पीडितको नजिक भएका थिए ।  

साथी बनिसकेपछि उनले पीडितहरूसंग मोबाइल नम्बर मागी ह्वाट्सएप मार्फत झन नजिक भएर कुराकानीका क्रममा यूकेमा रहेको हेल्थकेयर असिस्टेन्टमा राम्रो नोकरीको डिमान्ड रहेको  र सबै प्रक्रिया मिलाई यूकेमा नोकरी लगाई दिन्छु भन्ने जस्ता प्रलोभन देखाएको पीडितहरूको भनाइ छ । 

त्यसपछि पीडितबाट फोटो,पार्सपोर्ट, नागरिकता लगायतको व्यक्तिगत विवरणको कागजात लिएर रकम मागेर फरार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी विरुद्ध उजुरी परेको थियो । 

योसँगै उनी विरुद्ध गिफ्टको नाममा ठगी गरेको उजुरी पनि परेको छ । उनले विभिन्न व्यक्तिलाई पार्सल, आकर्षक गिफ्ट, डलर लगायतको सामान पठाएको छु भन्दै भिडिओ तथा अडियो कल गर्थे । 

यसरी खबर गरेको केही दिनमा आफैले उक्त पार्सल भारतको इन्दिरा गान्धी विमानस्थलमा पुगेको खबर दिन्थे । त्यसपछि उक्त पार्सल लगायतका सामान पाउनका लागि कस्टम चार्ज, क्लिरियन्स, इन्सुरेन्स, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितहरूबाट रकम असुली गरेको उजुरीमा उल्लेख छ । 

यसरी पीडितले पठाएको रकम प्राप्त गर्नका लागि सुदिशले नेपाली महिला सुनितालाई पनि प्रलोभनमा पारेर उनको बैंक अकाउन्ट प्रयोग गरेको कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।

यसरी उनले विभिन्न ४ व्यक्तिबाट २३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । सोही उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले साह र परियारलाई सोमबार बिहान पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

 

पछिल्लो अध्यावधिक: फागुन १५, २०७९ १७:११