कलाकार । आधिकारिक फेसबुक पेजबाट आपत्तिजनक पोस्ट र फोटोहरू शेयर भएपछि अनलाइन खबरले माफी मागेको छ । बिहीबार 'अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज' भन्दै अनलाइन खबरको आधिकारिक पेजबाटै आपत्तिजनक शीर्षक राखी मालवेयर लाेड गरिएकाे थियो ।
यसपछि एक सूचना निकाल्दै अनलाइन खबरले आफ्नो आधिकारिक पेजबाट पोस्ट भएको सामग्रीप्रति माफी मागेको छ । साथै थर्ड पार्टी एक्सेस र त्यसमार्फत भएका पोस्टहरू हटाइसकिएको पनि उल्लेख गरेको छ ।
यसैबीच कलाकार स्वस्तिमाका श्रीमान् एवं चलचित्र निर्देशक निश्चल बस्नेतले फेसबुकमार्फत अनलाइन खबरलाई गाली गरेका छन् । 'थुइक्क अनलाइन खबर' भनेर लेखिएकाे उनकाे पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् ।
उक्त पोस्टको कमेन्टबक्समा कतिले उनलाई आवेशमा नआउन अनुरोध गरेका छन् भने कतिले अनलाइन खबरलाई कानूनी कारबाही गर्नुपर्ने लेखेका छन् । त्यस्तै कतिले भने ‘के भएको हो’ भनेर प्रश्न गरेका छन् ।