काठमाडौं । सोमबार पहाडी भेगमा फागु पर्व अर्थात् होली मनाउने क्रम चलिरहेको छ । तराई क्षेत्रमा भने रङ्गहरूको पर्व होली मङ्गलबार मनाइँदैछ । यदि तपाईंलाई यो पर्वको आनन्द लिनु छ भने घरबाट बाहिर निस्किनु परिहाल्छ । कतिपय मानिसहरू रङ्ग मात्र नभएर पानीबाट समेत होली खेल्छन् ।
यसका साथै आजकल धेरैलाई आफ्ना हर क्षण क्यामेरामा कैद गर्ने बानी हुन्छ । यस्तोमा यदि होली खेल्ने क्रममा स्मार्टफोन पानीमा खस्यो वा भिज्यो भने के गर्ने ? पहिलो कुरा नआत्तिनुस् । बरु फोनलाई सुकाउने विषयमा सोच्नुहोस् ।
फोन भिज्दा वा पानीमा खस्दा के गर्ने ? यदि तपाईँको फोन पानीमा खसेको वा भिजेको छ भने तुरुन्त स्विच अफ गर्नुहोस् । यदि फोन स्विच अफ गर्नुभएन भने शर्ट सर्किट हुन सक्छ ।
यस्तोमा फोनको कुनै बटनले काम गरिरहेको छ कि छैन भनेर चेकजाँच गर्ने गल्ती नगर्नुहोस् । दायाँबायाँ नसोचेर तुरुन्त फोनलाई अफ गरिदिनुहोस् । फोन स्विच अफ गरेपछि त्यसमा सबै एक्सेसरिजलाई अलग्याउनु होस् ।
यदि सम्भव छ भने ब्याट्री छैन भने सिम कार्ड र मेमोरी कार्ड झिकेर सुकाउनका लागि तौलियामा राख्नुहोस् । यसो गर्दा शर्ट सर्किटको खतरा कम हुन्छ । फोनका एक्सेसरिज अलग्याइ सकेपछि तपाईँले फोनका सबै भाग सुकाउनु पर्ने हुन्छ । यसका लागि तपाईँ पेपर न्यापकिनको प्रयोग गर्न सक्नु हुन्छ । यस बाहेक फोनलाई नरम तौलियाको सहयोगमा समेत सेक्न सक्नुहुन्छ । बाहिरबाट सुकाएपछि फोनको भित्री भाग सुकाउनु जरुरी हुन्छ । यसका लागि फोनलाई एउटा भाँडोमा सुख्खा चामलमा ढाकेर राख्नुहोस् । चामलले तीव्र गतिमा फोनभित्रको आर्द्रता सोस्ने काम गर्छ । यस बाहेक यदि तपाईँसँग सिलिका जेल प्याक छ भने त्यसको समेत प्रयोग गर्न सक्नु हुन्छ । सिलिका जेल प्याक जुत्ताको डब्बा वा ग्याजेट बक्स आदिमा राखिएको हुन्छ । यसले चामलभन्दा छिटो आर्द्रता सोस्ने काम गर्छ । तपाईँले आफ्नो फोन कमसेकम २४ घण्टासम्म सिलिका प्याक वा चामलको भाँडोमा राख्नुपर्ने हुन्छ । त्यसपछि फोन र फोनमा सबै भाग सुख्खा हुनेछन् । यदि फोन यति गर्दा पनि अन भएन भने सर्भिस सेन्टरमा लैजानु होस् । तर यस्तो गल्ती बिर्सेर पनि नगर्नुहोस्ः यदि फोन पानीमा खस्यो भने त्यसलाई ड्रायरको सहयोगमा सुकाउने कोसिस नगर्नुहोस् । ड्रायरको गर्मी हावाले फोनका सर्किट पग्लिन सक्छन् । यदि फोन भिजेको छ भने त्यसका बटन नचलाउनुहोस् । किन कि त्यसो गर्दा शर्ट सर्किट हुने खतरा बढी हुन्छ । फोनको हेडफोन ज्याक तथा यूएसबी पोर्टको प्रयोग त्यतिञ्जेलसम्म नगर्नुहोस्, जबसम्म फोन पूर्ण रुपमा सुख्खा नहोस् ।