close

सार्वजनिक हुँदै जीपीटी ४, अक्षरसँगै भिडिओमा पनि जवाफ दिने

टेकपाना टेकपाना

फागुन २८, २०७९ १२:३१

सार्वजनिक हुँदै जीपीटी ४, अक्षरसँगै भिडिओमा पनि जवाफ दिने

काठमाडौं । आउँदो साता जीपीटी फोर सार्वजनिक हुने भएको छ । बिहीबार भएको 'एआई इन फोकस- डिजिटल लन्च' कार्यक्रममा बोल्दै माइक्रोसफ्ट जर्मनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) एन्ड्रिज ब्राउन (Andreas Braun) ले आगामी हप्ता जीपीटी फोर सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

च्याटजीपीटीभन्दा ५०० गुणा बढी शक्तिशाली हुने यो टुल, माइक्रोसफ्टले सार्वजनिक गर्न लागेको बताइएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार माइक्रोसफ्टले ओपनएआईसँग सहकार्य गरेर मध्य मार्चमा नयाँ एआई मोडेल जीपीटी फोर सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओपनएआईद्वारा निर्मित जीपीटी थ्री अर्थात् च्याटजीपीटीको चर्चासँगै थुप्रै कम्पनीले एआईलाई बढी प्राथमिकता दिन थालेका छन् । यससँगै च्याटजीपीटी थ्रीका कमजोरीलाई समेटेर जीपीटी फोर आउन लागेको बताइएको छ ।

बाहिरिएका जानकारी अनुसार जीपीटी-४ मा १०० खर्ब पारामिटर हुनेछ । जसले यस टुललाई ५०० गुणा शक्तिशाली बनाउने अपेक्षा गरिएको छ ।

च्याटजीपीटीले कुनै पनि कुरालाई टेक्स्टका माध्यमबाट बुझ्ने र जवाफ दिने गर्थ्यो भने जीपीटी-४ ले भिडिओ, टेक्स्ट, इमेज तथा अडिओका माध्यमबाट प्रश्नहरू लिने र जवाफ दिन सक्नेछ ।

माइक्रोसफ्ट बिङ जीफीटी थ्री र जीपीटी ३.५ द्वारा सञ्चालित छ । अब जीपीटी-४ उपलब्ध भएसँगै पहिलेभन्दा छिटो र सटीक जवाफ पाउन सकिने अपेक्षा छ । त्यसबाहेक पनि जीपीटी-४ ले विभिन्न भाषामा जवाफ दिने र सटीक तरिकाले भाषा अनुवाद गर्ने विज्ञहरूको भनाइ छ ।

केही सञ्चार माध्यमले जीपीटी-४ एआई भिडिओ बनाउन पनि सक्षम हुने उल्लेख गरेका छन् । साथै ओपनआई जीपीटी-४ मा आधारित मोबाइल एप निर्माणमा केन्द्रित छ । जीपीटी-४ सार्वजनिक भएसँगै यसलाई माइक्रोसफ्ट बिङबाट प्रयोग गर्न सकिने छ ।

 

पछिल्लो अध्यावधिक: फागुन २८, २०७९ १२:३१