च्याटजीपीटीमा आयो रिभर्स इमेज सर्च, कुनै पनि फोटो राखेर मूल स्रोत लगायतका जानकारी खोज्न सकिने
साउन २१, २०८२ १८:७
काठमाडौँ । अब च्याटजीपीटीबाटै रिभर्स इमेज सर्च (Reverse Image Search) गर्न सकिने भएको छ । ओपन ओआईले आफ्नो च्याटबटबाटै कुनै पनि तस्बिरको स्रोत पत्ता लगाउन वा त्यसका बारेमा थप जानकारी खोज्न सकिने बनाएको हो ।
रिभर्स इमेज सर्चमार्फत कुनै पनि तस्बिरको मूल स्रोत पत्ता लगाउन सघाउन सकिन्छ । यसबाट अरू कसैले तपाईँको तस्बिर प्रयोग गरिरहेको छ कि छैन भनेर पत्ता लगाउन पनि मिल्छ ।
यति मात्र नभएर कुनै तस्विरको हाई रिजोलुसन भर्सन खोज्ने, कुनै व्यक्तिको अनुहार पहिचान गर्ने, अनलाइनमा वस्तु तथा सरसामानको खोजी गर्ने, नक्कली मिडिया प्रोफाइल पत्ता लगाउने कार्य समेत यसले गर्न सक्छ ।
अहिलेको समयमा धेरै मानिसहरूले यो कामका लागि गुगल इमेज सर्च प्रयोग गरिरहेका हुन्छन् । तर, अब च्याटजीपीटीको यो फिचरले झनै सजिलो बनाएको छ । कुनै पनि तस्बिरबारे अनलाइनमा थप जानकारी पाउनका लागि यो एउटा राम्रो विकल्प हुन सक्छ ।
गुगल इमेज सर्च शक्तिशाली भए पनि च्याटजीपीटी थप सरलता ल्याएको छ । यसले तस्बिरको स्रोत मात्र खोज्दैन, तपाईँले थप गहिरो जानकारी माग्न, कलात्मक शैलीमा नयाँ सिर्जना गर्न वा नयाँ प्याटर्नमा समान तस्विरहरू अन्वेषण गर्न पनि सक्नुहुन्छ । उदाहरणको रूपमा एउटा तस्बिरका लागि च्याटजीपीटीले भेक्टर-स्टाइलका चित्र र रमाइलो स्केच पनि प्रस्तुत गर्यो । अब यसले तस्बिर खोज्नुभन्दा पनि बढी काम गर्छ । अर्थात् यसले रचनात्मक परियोजनाहरूलाई प्रोत्साहन, अनुसन्धानमा मद्दत र तस्बिरले के चिजको प्रतिनिधित्व गर्न सक्छ भन्ने बारे नयाँ दृष्टिकोण समेत प्रदान गर्न सक्छ ।
कसरी गर्ने च्याटजीपीटीको रिभर्स इमेज सर्च ?
सबैभन्दा पहिला च्याटजीपीटीको प्रम्प्ट बक्समा रहेको टुल आइकन (Tools icon) मा क्लिक गर्नुहोस् र वेब सर्च (Web Search) लाई छान्नु होस् । यदि तपाईँले अनलाइनमा कुनै तस्बिर देख्नुभएको छ भने सम्बन्धित वेबसाइटमा जानुहोस्, तस्बिरमा राइट-क्लिक गरेर 'कपी इमेज एड्रेस' (copy image address) छान्नुहोस् (यो शब्द तपाईँको ब्राउजर अनुसार फरक पर्न सक्छ) । अब त्यसलाई च्याटजीपीटीमा पेस्ट गर्नुहोस् र एरो अर्थात् तीरको बटनमा क्लिक गर्नुहोस् ।
यसबाहेक अर्को तरिका पनि छ, तस्बिर अपलोड गरेर खोज्ने । यसका लागि च्याटजीपीटीको प्रम्प्ट बक्समा रहेको ‘+’ (प्लस) चिन्ह छान्नुहोस् र 'Add photos & files' भन्ने विकल्प चयन गर्नुहोस् । तपाईँ 'Add from apps' (एपहरूबाट थप्नुहोस्) भन्ने अर्को विकल्प चयन गरेर गुगल ड्राइभ वा माइक्रोसफ्ट वनड्राइभलाई लिंक गर्न पनि सक्नुहुन्छ । यदि तस्बिरहरू यी क्लाउड सेवामा स्टोर गर्नुहुन्छ भने यो विकल्प उपयोगी हुन्छ । फोटो छानिसकेपछि एरो अर्थात् तीरको बटनमा क्लिक गर्नुहोस् ।
यी दुवै तरिकाले च्याटजीपीटीमार्फत तस्बिरको बारेमा जानकारी खोज्न सकिन्छ । तर हाम्रो परीक्षणमा यूआरएल कपी-पेस्ट गर्नुभन्दा सोझै तस्बिर अपलोड गर्दा बढी प्रभावकारी नतिजा प्राप्त भयो । यसरी खोज्दा च्याटजीपीटीले विश्लेषणको अन्त्यमा सम्बन्धित स्रोतको सूची नै उपलब्ध गराउँछ । ‘Sources’ (स्रोतहरू) मा त्यहाँ क्लिक गर्दा साइटेसन अर्थात् सन्दर्भको सूची खुल्छ । सामान्यतया उक्त सूचीमा खोजेको तस्विरसँग मेल खाने तस्विरहरूका साथै त्यससम्बन्धी थप जानकारी भएका वेबसाइटहरू राखिएका हुन्छन् ।
पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १८:७
