काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) को भर्ना आवेदनका लागि उपलब्ध गराएको वेबसाइटमा समस्या आएको छ ।
भर्ना लिन विश्वविद्यालयले अनलाइन फारमको व्यवस्था गरेपनि वेबसाइटमा समस्या आउँदा विद्यार्थीहरू मर्कामा परेका छन् ।
फारम भर्ने अन्तिम म्याद चैत ८ गतेसम्म मात्र भएको बेला सरकारकाे जीआईडीसी सर्भरमा समस्या आउँदा भर्ना प्रक्रिया अवरुद्ध भएको त्रिवि कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग (सीडीसीएसआईटी)का प्रमुख सर्विन सायमीले जानकारी दिए ।
हाल मर्मत कार्य जारी रहेको र छिट्टै सञ्चालनमा आउने पनि उनले बताए । याे शैक्षिक कार्यक्रमका लागि फागुन १४ गतेदेखि भर्ना प्रक्रिया थालेको विश्वविद्यालयले अनलाइन आवेदनकाे समय थप केही दिन बढाउनेबारे छलफल गरिरहेको उनले उल्लेख गरे ।