close

अष्ट्रेलियामा बस्ने सबैले अब टिकटक चलाउन नपाउने हुन् ? यस्तो छ वास्तवकिता

टेकपाना टेकपाना

चैत २३, २०७९ १२:३

अष्ट्रेलियामा बस्ने सबैले अब टिकटक चलाउन नपाउने हुन् ? यस्तो छ वास्तवकिता

काठमाडौं । सामाजिक सञ्जालमा अहिले अष्ट्रेलियाले टिकटकमाथि प्रतिबन्ध लगाएको खबर चर्चामा छ । विभिन्न फेसबुक पेज र ग्रुपमा टिकटक प्रतिबन्धबारे पोस्ट देख्न सकिन्छ । तर अधिकांश पोस्टले भने अपुष्ट सूचना दिएका छन् । यसले धेरै मानिसमा अन्योलता सिर्जना गरेको हुनसक्छ ।

वास्तवमा अष्ट्रेलियाले सरकारी कार्यालय र त्यहाँ काम गर्ने कर्मचारीको डिभाइसमा मात्र टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको हो । अष्ट्रेलियाली सरकारका महान्यायाधिवक्ता मार्क ड्रेफस यसबारे पुष्टि गरेको भन्दै त्यहाँका राष्ट्रिय मिडियादेखि विभिन्न अन्तर्राष्ट्रिय मिडिया र समाचार एजेन्सीले समाचार प्रकाशित गरेका छन् ।

तर सामाजिक सञ्जालका केही पोस्टमा अष्ट्रेलियामा टिकटकमाथि पूर्ण प्रतिबन्ध लागेको भन्दै अफवाह फैलाइएको छ । अष्ट्रेलियाले सरकारी कार्यालयका डिभाइस र कर्मचारीले प्रयोग गर्ने डिभाइसमा मात्र टिकटक प्रतिबन्ध गर्ने निर्णय लिएको हो । त्यहाँ बसोबास गर्ने अन्य व्यक्तिको डिभाइसमा टिकटक प्रयोग गर्न सकिनेछ ।

यसअघि अमेरिका, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, बेल्जियमका साथै युरोपेली युनियन अन्तर्गतका देशले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाएका छन् । सोही अनुरूप अष्ट्रेलिया सरकारले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको हो । अष्ट्रेलियाका महान्याधिवक्ताले करिब सात महिना टिकटकको सुरक्षा जोखिम अध्ययन गरेर यस्तो निर्णय लिइएको बताएका छन् । 

टिकटकले प्रयोगकर्ताको डेटामा पहुँच राख्ने र सरकारी संयन्त्रको सूचना बाहिरिने भय देखाउँदै विभिन्न देशले यो प्लेटफर्ममाथि प्रतिबन्ध लगाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ १२:३