close

सस्तोमा आईफोन पाउने लोभमा हाम्रो बजारबाट १ लाख ठगिएपछि...

टेकपाना टेकपाना

चैत २६, २०७९ १७:०

सस्तोमा आईफोन पाउने लोभमा हाम्रो बजारबाट १ लाख ठगिएपछि...

काठमाडौं । अनलाइनमा नक्कली विज्ञापन राखी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सिमिकोट घर भइ भक्तपुर बस्दै आएका २४ वर्षीय उपेन्द्र शाही रहेका छन् ।

आरोपित शाहीले हाम्रो बजार डटकममा आईफोन १४ प्रो म्याक्स जस्ता महँगा मोबाइल सेटको बिक्रीका लागि विज्ञापन राख्थे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त विज्ञापनबाट सम्पर्कमा आएका मानिसहरूलाई मोबाइलको मूल्य, डेलिभरी चार्ज, कुरियर चार्ज जस्ता कुराका लागि रकम पठाउन अनुरोध गर्थे ।

पैसा पठाउन आफूसँग भएका अन्य व्यक्तिको बैंक विवरण तथा ई-सेवा वालेटका अकाउन्ट पीडितलाई दिन्थे र त्यसैमा पैसा पठाउन लगाउँथे । पैसा पाइसकेपछि गायब भएको भन्दै शाहीमाथि उजुरी परेको थियो ।

"यसरी अनलाइनबाट ठगी गरेको भनेर एक जना पीडितले उजुरी दिनु भएको थियो," कार्यालयका साइबर पिल्लर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीले भने, "उहाँबाट एक लाख दुई हजार रुपैयाँ ठगी भएको रहेछ । अरू कति ठगीमा परेका छन्, हामी अनुसन्धान गरिरहेका छौँ ।"

शाहीलाई प्रहरीले आइतबार पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १७:०