तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ ओटै वडामा वाकिटकी वितरण गरेको छ । विपद्को समयमा सञ्चार पहुँच टुटेको अवस्थामा सहजै सञ्चार सुविधा भएमा तत्काल राहत उद्धारका लागि वाकिटकी वितरण गरेको हो ।
प्रत्येक वाकिटकीमा वडाअनुसार कल साइनको व्यवस्था गरिएको छ । तुलसीपुर आपत्कालीन सञ्चालन केन्द्र, दमकल र नगरप्रमुख सचिवालयमा एक–एक ओटा वाकिटकी राखिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले १९ ओटै वडाका वडाध्यक्ष र सचिवहरूलाई प्रशिक्षण दिएर वाकिटकी वितरण गरेको हो । विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले २३ वटा वाकिटकी सेट नौ लाख ३१ हजारमा खरिद गरिएको बताए । उनले बाढी पहिरो, आगलागी, भूकम्पजस्ता विपद्को तत्काल उद्धार र राहतका लागि वाकिटकी वितरण गरिएको बताए ।
इलाका प्रहरी कार्यालयका खिम विष्टले इन्टरनेट र नेटवर्कका समस्या भएको अवस्थामा जोखिमबाट तत्काल राहतका लागि वाकिटकीबाट सहजरुपमा सूचना आदान प्रदान गर्न सकिने उल्लेख गरे ।
नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा बाढी पहिरो र आगलागीको विपद्को सामना गर्दैआएको अवस्थामा वाकिटकीबाट सम्बन्धित निकाय र क्षेत्रमा सूचनाको पहुँच पुग्ने भनाइ राखे ।
उनले प्रत्येक वडामा राहत उद्धारका लागि तत्कालै सम्पन्न गर्न प्रभावकारी रहने बताए । तुलसीपुर उपमहानगरपालिकाले आपत्कालीन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।