close

ओपनएआईसँग प्रतिस्पर्धा गर्न एलन मस्कले स्थापना गरे आफ्नै एआई कम्पनी

टेकपाना टेकपाना

बैशाख २, २०८० १८:४०

ओपनएआईसँग प्रतिस्पर्धा गर्न एलन मस्कले स्थापना गरे आफ्नै एआई कम्पनी

काठमाडौं । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्सलाई आलोचना गर्दै आएका एलन मस्क आफैंले एआई कम्पनी स्थापना गरेको कुरा बाहिरिएको छ । द फाइनान्सियल टाइम्सले लेखेकाे एक रिपाेर्टअनुसार ओपन एआईलाई चुनौती गर्नेगरी मस्कले आफ्नो छुट्टै कम्पनी स्थापना गरेर एआई टुल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

मस्कले हालै एक एक्स एआई (X.AI) कर्पोरेसन नामको कम्पनी स्थापना गरेको छ । मस्कलाई एक्स शब्दसँग निकै नै लगाव छ । उनले यो शब्दबाट नै आफ्ना केही कम्पनीहरूको नाम पनि राखेका छन् ।

हालै उनले ट्वीटर खरिद गरेर ट्वीटर इन्कलाई एक्स कर्प नाम पनि दिएका छन् । हुन त एआई प्रोजेक्ट कुनै नयाँ कुरा होइन । उनले यो क्षेत्रमा धेरै काम गरिसकेका छन् । यद्यपि पछिल्लो समयमा भने उनले ओपनएआई र च्याटजीपीटीलाई लिएर एआईप्रति नकारात्मक प्रतिक्रिया दिँदै आएका थिए ।

यसैबीच मस्कले एक्स एआई कर्पोरेसनको स्थापना गर्नु भनेको च्याटजीपीटीको लागि प्रतिद्वन्द्वी तयार गर्न खोजिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यसैबीच मस्कले ट्वीटरको एक डेटा सेन्टरका लागि एआई विकासका लागि १०,००० जीपीयूहरू पनि खरिद गरेको बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० १८:४०