close

राष्ट्रिय साइबर सुरक्षा नीतिमा के के विषय समेट्नुपर्छ ? सरकारले माग्यो तपाईँको सुझाव

टेकपाना टेकपाना

बैशाख ४, २०८० १६:१

राष्ट्रिय साइबर सुरक्षा नीतिमा के के विषय समेट्नुपर्छ ? सरकारले माग्यो तपाईँको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीतिका लागि सर्वसाधारणसँग सुझाव मागेको छ । सोमबार एक सूचना जारी गर्दै मन्त्रालयले नीति मस्यौदामा कुनै सुझाव भए सात दिनभित्र उपलब्ध गराउन सरोकारवालासँग अनुरोध गरेको हो ।

इच्छुकले आफ्नो सुझाव [email protected] वा [email protected] ईमेल ठेगानामा पठाउन सक्नेछन् ।

साइबर सुरक्षा जोखिमलाई सम्बोधन गर्दै व्यक्ति, व्यवसाय र सरकारका लागि भरपर्दो, सुरक्षित एवम् लचिलो साइबर स्पेस निर्माण गर्ने दीर्घकालिन सोच अनुरुप मन्त्रालयले मस्यौदा तयार पारेको छ ।

आवश्यक संस्थागत तथा कानूनी संरचना निर्माण, जनचेतना र क्षमता अभिवृद्धि तथा उपलब्ध विधि, प्रविधि र जनशक्तिको संयोजनबाट साइबर स्पेसमा हुनसक्ने सम्भावित क्षति कम गर्न सकिने अपेक्षा लिइएको छ ।

सरकारले नीतिमार्फत साइबर सुरक्षाका लागि आवश्यक कानून एवम् मापदण्डका साथै दक्ष जनशक्ति उत्पादन गर्ने, जनचेतना अभिवृद्धि गर्ने, सार्वजनिक तथा निजी क्षेत्रसँग समन्वय एवम् सहकार्य गर्ने, द्वीराष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग समन्वय एवम् सहकार्य गर्ने र सुरक्षित अनलाइन स्पेस बनाउने रणनीति लिएको छ ।

त्यस्तै संवेदनशील तथ्याङ्क संकलन, प्रशोधन, प्रयोग तथा भण्डारण गर्ने निजी तथा सार्वजनिक निकायहरुलाई आवधिक रुपमा साइबर सुरक्षा परीक्षण अनिवार्य गर्ने व्यवस्था मिलाइने कार्यनीति बनाइएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा राष्ट्रिय साइबर सुरक्षा फ्रेमवर्क तर्जुमा गर्ने, गुणस्तरीय सफ्टवेयरका लागि आवश्यक मापदण्ड तय गर्ने, डेटा हानी, नोक्सानी, तथा चोरी सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्ने जस्ता व्यवस्था गरिने विषयहरु मस्यौदामा समेटिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १६:१