काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार प्रणालीमा समस्या आउँदा एक घण्टा उडान प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कुनै प्राविधिक समस्या नदेखिएपनि एयर ट्राफिक कन्ट्रोलर र पाइलटबीच सम्पर्क हुन नसकेको हो ।
"हामीले हेर्दा कुनै प्राविधिक समस्या देखिएको छैन । एटीसी र पाइलट दुवैमा कुनै समस्या आएको छैन," उनले भने, "हावाहुरी जस्तो वातावरणिय कारणले सम्पर्कमा समस्या आएको हुनसक्छ ।"
एटीसी र पाइलटले एकअर्काले बोलेको कुनै समय बुझ्ने र कुनै समय नबुझ्ने समस्या आएको उनले बताए । उनका अनुसार यो समस्या आईतबार दिउँसो २:३० देखि ३:२० सम्म आएको थियो । यो अवधिमा केही उडानहरू होल्ड भएका थिए ।
अहिले भने यो समस्या समाधान भइसकेको छ । पछिल्ला केही दिनहरूमा विमानस्थलमा प्राविधिक समस्याका कारण उडान प्रभावित हुन थालेको छ । यद्यपि विमानस्थलले भने प्रविधिमा कुनै समस्या नभएको दाबी गर्दै आएको छ ।