close

तपाईँको आईफोनमा नयाँ अपडेट इन्स्टल गर्न समस्या भयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ११, २०८० ८:५३

तपाईँको आईफोनमा नयाँ अपडेट इन्स्टल गर्न समस्या भयो ? यसो गर्नुहोस्

काठमाडौं । आईफोन वा आईप्याडमा आईओएस वा आईप्याडओसको लागि एप्पलले नयाँ अपडेट सार्वजनिक गरेको छ । तर के तपाईँको डिभाइसमा नयाँ अपडेट इन्स्टल गर्न समस्या भइरहेको छ ? 

कसैले इन्टरनेट स्पिडको समस्या त कसैले डिभाइसकै समस्याको रुपमा यसलाई लिइरहेको छ । तर धेरैजसो समयमा आईफोन वा आईप्याड अपडेट गर्दा एकै पटकमा अपडेट नहुने समस्या आइरहेको हुन्छ । यसका धेरै कारण हुनसक्छन् । यहाँ आईफोन वा आईप्याड अपडेट नहुनुका केही कारणहरू उल्लेख गरिएको छ ।  

१) डिभाइस चार्ज नहुनु

जटिल समस्याहरूबारे चर्चा गर्नुभन्दा पहिले सामान्य कमजोरीले गर्दा हुने समस्याबारे चर्चा गरौं । यदि तपाईंको आईफोन वा आईप्याडमा चार्ज कम छ भने अपडेट नहुने समस्या हुन्छ । विशेषगरी डिभाइस अपडेट हुँदा त्यसले बढी चार्ज खपत गर्ने भएकाले अपडेट गर्नुअघि उक्त अपडेटलाई पुग्ने चार्ज गर्नुपर्छ । त्यसैले अपडेट गर्नुअघि डिभाइसलाई फूल चार्ज गर्नुहोस् ।

२) तपाईँको डिभाइस अपडेट हुनका लागि योग्य भएको यकिन गर्नुहोस्

सबै डिभाइसमा नयाँ अपडेट इन्स्टल गर्न सकिन्छ भन्ने हुँदैन । तपाईँसँग भएको आईफोन वा आईप्याड पछिल्लो समय उपलब्ध भएको अपडेटका लागि योग्य छ वा छैन भन्ने कुरा यकिन गर्नु उपयुक्त हुन्छ । यदि तपाईँको डिभाइस धेरै पुरानो छ भने त्यसमा नयाँ अपडेट इन्स्टल नहुनसक्छ । तपाईँको डिभाइस नयाँ अपडेटका लागि योग्य छ वा छैन भन्ने थाहा पाउन आईफोन प्रयोगकर्ताले यहाँ र आईप्याड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

३) अपडेट गर्नुअघि केही समय पर्खनुहोस्

अपडेट उपलब्ध हुने बित्तिकै इन्स्टल गर्छु भन्ने सोच्नु भएको छ भने पर्खनुहोस् । अपडेट सार्वजनिक हुने बित्तिकै अपडेट गर्न हुँदैन । किनभने नयाँ अपडेटमा विभिन्न कमजोरी आएका हुनसक्छन् । जसले गर्दा तपाईँको डिभाइसको सिस्टम नै खराब हुन सक्छ । अपडेट उपलब्ध भइसकेपछि त्यसबारे अध्ययन गरेर र फिचरहरू हेरेर मात्र इन्स्टल गर्नुहोस् । यदि तपाईँले अपडेट सार्वजनिक गर्ने बित्तिकै इन्स्टल गर्न खोज्नु भएको छ भने इन्स्टल नहुन सक्छ । त्यसैले केही घण्टा वा दिन पर्खनु उपयुक्त हुन्छ । 

४) डिभाइसलाई फोर्स रिस्टार्ट गर्नुहोस्

फोनमा भएका केही बग (कमजोरी) ले गर्दा पनि कहिलेकाँही डिभाइसमा नयाँ अपडेट इन्स्टल नभएको हुनसक्छ । त्यसैले यस्तो समस्या देखिएको अवस्थामा डिभाइसलाई रिस्टार्ट गर्नुभयो भने त्यसमा भएका अस्थायी रूपमा देखिएका कमजोरी हट्न सक्छन् । यदि सामान्य तरिकाले डिभाइस शटडाउन वा रिस्टार्ट गर्दा यस्तो समस्या हटेन भने डिभाइसलाई फोर्स रिस्टार्ट गर्नुहोस् । यसो गर्दा तपाईँको डिभाइसमा भएका कमजोरीको समाधान हुन्छ ।

५) डिभाइसमा स्टोरेज खाली गर्नुहोस्

कतिपय अवस्थामा डिभाइसमा स्टोरेज कम हुँदा पनि अपडेट गर्न समस्या आइरहेको हुन्छ । नयाँ अपडेटले डिभाइसको बढी स्टोरेज खपत गर्छ । यदि उक्त अपडेटका लागि आवश्यक पर्ने स्टोरेज छैन भने नयाँ अपडेट इन्स्टल हुँदैन । त्यसैले डिभाइसमा उक्त अपडेटका लागि आवश्यक पर्ने स्टोरेज खाली गर्नुहोस् । त्यसपछि डिभाइसमा सहजै नयाँ अपडेट इन्स्टल गर्न सकिन्छ ।

स्टोरेज खाली गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-  सेटिङ खोल्नुहोस्, 

-  त्यसपछि जेनरल अप्सनमा जानुहोस्,

-  अनि, आईफोन वा आईप्याड स्टोरेजको अप्सनमा जानुहोस्,

-  उक्त अप्सनमा तपाईँको कति स्टोरेज प्रयोग भइरहेको छ र कति खाली छ भन्ने देखाइएको हुन्छ,

यसरी स्टोरेज देखिसकेपछि तलका मध्ये आवश्यक कामहरू गर्नुहोस्:

-  अनावश्यक एप अनइन्स्टल गर्नुहोस्,

- प्रयोगमा नआएको तर ठूला स्टोरेज भएका एप हटाउनुहोस्,

-  आईक्लाउड फोटोजमा भएका अनावश्यक फोटोलाई हटाउनुहोस् ।

-  अनावश्यक वा पुराना कुराकानी हटाउनुहोस् ।

६) नेटवर्क कनेक्सन राम्रोसँग जाँच गर्नुहोस्,

कतिपय अवस्थामा डिभाइसमा नेटवर्क कनेक्सन राम्रो नहुँदा पनि अपडेट हुन समस्या भइरहेको हुन्छ । त्यसका लागि वाई-फाई वा डेटा कनेक्सनले राम्रोसँग काम गरेको छ वा छैन भन्ने कुरा यकिन गर्नुहोस् । यदि इन्टरनेटमा समस्या हो भने इन्टरनेटको समस्या समाधान गर्नुहोस् । यदि डिभाइसमा समस्या हो भने तलको प्रक्रिया अपनाएर समस्या समाधान गर्नुहोस् ।

-  सबैभन्दा पहिले सेटिङमा जानुहोस्,

-  त्यसपछि जेनरलको अप्सनमा ट्याप गर्नुहोस्,

-  अनि, ट्रान्सफर वा रिसेट आईफोनको अप्सनमा जानुहोस्,

-  यति गरेपछि रिसेटको बटनमा ट्याप गर्नुहोस्,

- रिसेट नेटवर्क सेटिङमा जानुहोस् । अनि पासकोड राख्नुभयो भने नेटवर्क सेटिङ रिसेट हुन्छ । त्यसपछि पुनः नेटवर्क कनेक्ट गरेर अपडेट इन्स्टल गर्नुहोस् ।

७) फ्याक्ट्री रिसेट गर्नुहोस्

कतिपय अवस्थामा डिभाइसमा के समस्या आएको छ भन्ने पहिचान गर्नै सकस हुन्छ । जसले गर्दा उक्त समस्या तत्कालै समाधान हुँदैन । कहिलेकाही फ्याक्ट्री रिसेट गर्दा पनि यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ । तर, याद गर्नुहोस्, यसो गर्दा डिभाइसमा भएका लोकल डेटा र फाइल सबै हट्ने गर्छन् ।

आईफोन वा आईप्याड रिसेट गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-  सबैभन्दा पहिले सेटिङमा गएर जेनरलमा जानुहोस्,

-  अनि, ट्रान्सफर अर रिसेट आईफोनको अप्सनमा ट्याप गर्नुहोस्,

-  र, रिसेटमा गइ रिसेट अल सेटिङको अप्समा ट्याप गर्नुहोस्,

-  अनि आफ्नो पासकोड राखेर कन्फर्मको बटनमा ट्याप गर्नुहोस्,

यति गर्नुभयो भने तपाईँको डिभाइसको सबै सेटिङ परिवर्तन हुन्छ । जसले गर्दा तपाईँको डिभाइसमा भएका समस्या समाधान हुन्छन् । र, नयाँ अपडेट इन्स्टल गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० ८:५३