close

ज्याक डोर्सी भन्छन्- ‘ट्वीटरका लागि एलन मस्क गतिला मान्छे रहेनछन्’

टेकपाना टेकपाना

बैशाख १९, २०८० १३:३

ज्याक डोर्सी भन्छन्- ‘ट्वीटरका लागि एलन मस्क गतिला मान्छे रहेनछन्’

काठमाडौं । माइक्राे ब्लगिङ प्लेटफर्म ट्वीटरका संस्थापक ज्याक डोर्सीले गलत व्यक्तिको नेतृत्वमा ट्वीटर पुगेको धारणा राखेका छन् । ट्वीटरको नेतृत्व एलन मस्कले सम्हालेसँगै प्लेटफर्म विभिन्न विवादमा तानिएपछि डोर्सीले खुलेर मस्कको आलोचना गरेका हुन् ।

उनले मस्कको आलोचना गर्दै ट्वीटरको नेतृत्वबाट बाहिरिन समेत सुझाव दिएका छन् । यसअघि ट्वीटरका लागि एलन मस्क एक मात्र समाधान भएको भन्ने डोर्सी अहिले आलोचना गरिरहेका छन् ।

प्रयोगकर्ताका लागि ट्वीटर उपयुक्त नभएको भन्दै डोर्सीले बजारमा आफ्नै सामाजिक सञ्जाल 'ब्लु स्काइ'ल्याएका छन् । डोर्सीले हालै आफ्नै सामाजिक सञ्जाल 'ब्लुस्काई सोसल' सार्वजनिक गरेका थिए ।

अहिले इन्भिटेसन कोडबाट मात्र अकाउन्ट खोल्न सकिने यो प्लेटफर्ममा ४३ हजार बढी प्रयोगकर्ता जोडिएका छन् । उक्त प्लटफर्ममा एक प्रयोगकर्ताले डोर्सीलाई ट्वीटरबारे आफ्नो धारणा राख्न अनुरोध गरेका थिए ।

प्रयोगकर्ताले डोर्सीलाई ट्वीटरका लागि एलन मस्क सही नेतृत्व हुन् वा होइनन् भनेर प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफ दिँदै डोर्सीले 'होइनन्' भनेका छन् ।

"मलाई लाग्छ उनले आफ्नो समय खराब चलिरहेको थाहा पाए पनि राम्रोसँग काम गरिरहेका छैनन्,'' डोर्सी लेख्छन्, "इट अल वेन्ट साउथ ।" 'इट अल वेन्ट साउथ' एउटा बोलीचालीको भाषा हो, जसको अर्थ कुनै पनि कुरा राम्रोसँग सम्पन्न भइरहेको छैन वा अपेक्षा गरे अनुरूप सञ्चालन भएको छैन भन्ने हुन्छ ।

यही समस्या पुनः आउन नदिन आफूलाई विकल्प खोज्नुपर्ने उल्लेख गरेका छन् । ट्वीटर एलन मस्कको स्वामित्वमा गएपछि सबैभन्दा पहिले उनले कर्मचारी कटौती गर्न सुरु गरे । कम्पनीको नीतिले मस्कले ल्याएका विभिन्न परिवर्तन पनि निकै विवादित बने ।

विशेषगरी ट्वीटरले पछिल्लो समय प्रयोगकर्ताको अकाउन्टबाट ब्लुटिक खोसेपछि झनै विवादित बनेको छ । आफ्नो अकाउन्टमा भएको ब्लु टिक यथावत् राख्न कम्पनीले प्रयोगकर्तालाई शुल्क तिर्न बाध्य पारेको छ ।

यसो त कम्पनीले १० लाख बढी फलोअर हुने प्रयोगकर्तालाई निःशुल्क ब्लु टिक उपलब्ध गराउने थालेको छ । गत अप्रिलमा डोर्सीले एक ट्वीटमार्फत ट्वीटर एलन मस्कको स्वामित्वमा हुनु नयाँ आयामको सङ्केत भएको उल्लेख गरेका थिए ।

तर, त्यसको एक वर्षमै मस्कप्रतिको डोर्सीको धारणा बदलिएको छ । अहिले उनी मस्क उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन् ।

डोर्सीको सामाजिक सञ्जाल एपस्टोर र प्ले स्टोरमा उपलब्ध भइसकेको छ । यदि तपाईं पनि ब्लुस्काई अकाउन्ट बनाउन चाहनुहुन्छ भने प्ले स्टोर वा एपस्टोरबाट ब्लु स्काई डाउनलोड गर्न सक्नुहुन्छ ।

उक्त एप खोलेर आफ्नो जिमेल अकाउन्ट राखी वेट-लिस्टमा बस्नुपर्ने हुन्छ । त्यसपछि केही दिनमा कम्पनीले इन्भिटेसन कोड पठाउँछ । उक्त इन्भिटेसन कोड प्रयोग गरी ब्लुस्काई अकाउन्ट बनाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १३:१०