काठमाडौं । गुगलले हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल सेक्योर (एचटीटीपीएस) को लक आइकन परिवर्तन गर्ने भएको छ । एक ब्लग पोस्ट लेख्दै गुगलले सो लक परिवर्तन गर्न लागेको जनाएको छ ।
क्रोम ब्राउजरमा वेबसाइटको नामअगाडि देखा पर्ने लक आइकनमा सेप्टेम्बरदेखि नयाँ डिजाइन आउनेछ । हाल एचटीटीपीएस इनेबल गरिएका सुरक्षित वेबसाइटको एड्रेसबारमा ‘लक’ आइकन देखिन्छ ।
एचटीटीपीएस इनेबल भएको साइट सुरक्षित रहेको बुझाउन कम्पनी सन् २०१४ मा यसको सुरुवात गरेको थियो । एचटीटीपीएसले ब्राउजर र वेब पेजबीचको सुरक्षित कनेक्सन रहेको सङ्केत गर्छ । यसैले गर्दा प्रयोगकर्ता ह्याकरहरूबाट बच्न सक्छन् ।
तर हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल (एचटीटीपी)मा भने त्यसो हुँदैन । यो एचटीटीपीएसको तुलनामा बढी असुरक्षित हुन्छ । एक अध्ययनले विश्वका ९५ प्रतिशत वेबसाइटमा एचटीटीपीएस इनेबल गरिएको देखाएको थियो ।
यसैले एचटीटीपीएस सुरक्षित हुने भएकाले सर्च रिजल्टमा एचटीटीपी साइटलाई कमै देखाउने गरिन्छ । तर गुगलले २०२१ मा गरेको एक अध्ययनमा सहभागी मध्ये ११ प्रतिशतले मात्र लक आइकनको अर्थ बुझ्ने बताएका थिए । यही कारण लक आइकन परिवर्तन गरिने भएको हो ।
यसअघि उक्त लक आइकनलाई हटाएर वेबसाइट असुरक्षित छ भन्ने कुरा नोटिफिकेशन मार्फत जानकारी दिने बताएको थियो । तर अब भने त्यसो नगरेर लक आइकनको ठाउँमा ‘ट्युन’ आइकन हुने छ ।
गुगलका अनुसार यस आईकन तटस्थ रहने छ । यसले लक आइकन हुँदा जस्तो भ्रम र सुरक्षा जोखिमबाट बच्ने गुगलले जनाएको छ । गुगलले परिवर्तन गर्न लागेको उक्त ट्युन आइकन अन्य एपहरूमा हुने ‘सेटिङ’सँग मिल्दोजुल्दो देखिन्छ ।
यही कारण प्रयोगकर्ताले त्यहाँ क्लिक गरेर बाँकी विवरण हेर्न सक्ने गुगलको दाबी छ । उक्त नयाँ डिजाइन गरिएको इन्टरफेस सेप्टेम्बर २०२३ मा क्रोम ११७ रिलिजसँगै सबैका लागि उपलब्ध हुनेछ ।