close

विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

सञ्जीवन राई सञ्जीवन राई

बैशाख २०, २०८० १७:७

विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

काठमाडौं । विमोचन विश्वकर्मा अहिले त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी (ब्याचलर अफ साइन्स इन कम्प्युटर एन्ड इन्फरमेसन टेक्नोलोजी) को पहिलो सेमेस्टरका विद्यार्थी हुन् । उनी एक सफ्टवेयर कम्पनीमा जुनियर प्रोग्रामरका रूपमा समेत काम गरिरहेका छन् ।

विश्वकर्मालाई यस सेमेस्टरमा पढाइको उति धेरै तनाव छैन । उनले कक्षा ६ देखि नै कम्प्युटर शिक्षा पढ्न सुरु गरेका थिए । कक्षा ९-१२ सम्म त  ऐच्छिक विषयका रूपमा कम्प्युटर नै पढे ।

अहिले पहिलो सेमेस्टरमा भएका धेरै कुरा पहिलेका कक्षामा नै पढिसकेकाले सजिलो भएको उनी सुनाउँछन् । विश्वकर्मा एक प्रतिनिधि विद्यार्थीमात्र हुन्, जसले भविष्यमा सूचना प्रविधि (आईटी) अध्ययन गर्न विद्यालय तहमा नै कम्प्युटर शिक्षा पढे ।

नेपालमा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ९-१० मा ऐच्छिक प्रथम पत्रमा ४२ र दोस्रो पत्रमा ३५ विषय रहेका छन् । विद्यार्थीले दोस्रो पत्रमा कम्प्युटर चयन गर्नुपर्ने हुन्छ ।

अहिले हरेक विद्यार्थीलाई कम्प्युटर शिक्षाको ज्ञान दिन कक्षा ४ देखि १० सम्म आईसीटीको पढाइ अनिवार्य गरिएको छ । तर उच्च शिक्षामा आईटी अध्ययन गर्न चाहने विद्यार्थीलाई भने त्यति पर्याप्त नहुने सरोकारवालाहरू बताउँछन् ।

त्यसको आधार तयार पार्न कक्षा ९ बाट कम्प्युटर शिक्षा (ऐच्छिक दोस्रो पत्र) अध्ययन गर्नुपर्ने उनीहरूको मत छ । यतिबेला नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । कक्षा ९ मा विद्यार्थीले ऐच्छिक विषय कुन लिने भन्ने अन्याेल रहेको सरोकारवाला बताउने गर्छन् ।

तर अहिलेको समयसापेक्ष अनुसार विषय चयन गर्दा कम्प्युटर उत्कृष्ट भएको माध्यमिक तहको कम्प्युटर शिक्षाका लेखक सुनिलकुमार घर्तीको भनाइ छ ।

उनी स्वयंले ऐच्छिक विषयमा कम्प्युटर शिक्षा लिएका थिए । भविष्यमा आईटी पढ्ने, सूचना तथा प्रविधिको क्षेत्रमा केही गर्नेलाई कम्प्युटर ऐच्छिक सहयोग गर्ने उनी बताउँछन् ।

“कम्प्युटर विषय पढ्दैमा करियर बन्ने त होइन । तर यसले करियरमा भने ठूलो सहयोग गर्छ,” उनी भन्छन्, “भविष्यमा आईटीबाहेक जुन विषय लिए पनि अहिले पढेको कम्प्युटर शिक्षाले सहयोग गर्छ ।”

अहिलेका बालबालिका सानैदेखि प्रविधिसँग परिचित हुने भएकाले यो विषय अध्ययन गर्न उस्तो गाह्रो नहुने उनी सुनाउँछन् । त्यसबाहेक आईसीटी नजोडिएको क्षेत्र नभएकाले पनि यसको अध्ययन महत्त्वपूर्ण हुने उनको बुझाइ छ ।

त्यस्तै आजभोलि सामान्य कामका लागि समेत कम्प्युटर सीप खोजिने भएकाले विद्यालय तहमा भएको ऐच्छिक कम्प्युटर लिनुपर्ने त्रिभुवन विश्वविद्यालयको आईसीटी एजुकेसनको विभागीय प्रमुख रोमकान्त पाण्डे बताउँछन् ।

हामी प्रविधिमा अभ्यस्त हुँदै गइरहेकाले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने हुनसमेत विद्यार्थीले कक्षा ९ बाट सुरु हुने ऐच्छिक कम्प्युटर अध्ययन गर्नुपर्ने उनी मत राख्छन् । त्यसो गर्दा रोजगारीको समस्या पनि धेरै हदसम्म कम हुने उनी सुनाउँछन् ।

“अहिले माध्यमिक तह उत्तीर्ण गर्ने धेरै विद्यार्थी बेरोजगार हुन्छन्,” उनी भन्छन्, “तर यदि उसँग कम्प्युटर सीप छ भने त सजिलैसँग बाँच्न सक्छ ।”

यता लिटिल एन्जल्स स्कुल, ललितपुरका योगेश क्षेत्री भने ऐच्छिक विषयका रुपमा रहेको कम्प्युटर शिक्षा सूचना तथा सञ्चार प्रविधि अध्ययनको आधार भएको विचार राख्छन् । उनी यस विषयले विद्यार्थीको तार्किक क्षमता, समाधानमुखी सोचको विकास गर्ने बताउँछन् ।

त्यस्तै सूचना प्रविधि विकास भइरहेको क्षेत्र भएकाले यदि त्यसको अध्ययन नगर्ने हो भने धेरै पछि परिने उनी सुनाउँछन् । ऐच्छिक विषयका रुपमा रहेको यस कम्प्युटर शिक्षाले भविष्यमा मात्र नभएर दैनिक जीवनमा समेत फरक पार्ने उनी बताउँछन् ।

उनको कुरामा त्रिपुरेश्वरमा रहेकाे विश्व निकेतन माध्यमिक विद्यालयका शिक्षक श्याम मिश्रसमेत सहमत देखिन्छन् । भविष्यमा आईटी अध्ययन गर्ने विद्यार्थीको आधारभूत तह बलियो बनाउन ऐच्छिक कम्प्युटर महत्त्वपूर्ण भएको उनी मत राख्छन् ।

आफ्नो विद्यालयमा २०५४ सालबाट कम्प्युटर शिक्षा अध्यापन गराउन थालेको बताउँदै अहिले ती धेरै जना आईटी क्षेत्रमा भएको उनी बताउँछन् । सरकारले विद्यालयको पूर्वाधार विकास र कम्प्युटर शिक्षक दरबन्दी उपलब्ध गराउने हो भने यस विषयको महत्त्व थप बढ्ने उनी सुनाउँछन् ।

कस्तो छ ऐच्छिक कम्प्युटर ?

कक्षा ९ र १० को ऐच्छिक कम्प्युटरको पूर्णाङ्क १०० छ । यसमध्ये ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक अङ्कभार छुट्याइएको छ । जसले गर्दा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक कक्षा दुवै बराबर अध्ययन गर्न सक्छन् ।

यस विषयमा कम्प्युटरको आधारभूत ज्ञान, कम्प्युटर ग्राफिक्स, नेटवर्क, इन्टरनेट र वेब टेक्नाेलाेजीजस्ता विषयवस्तु राखिएको छ । त्यस्तै कम्प्युटर प्रोग्रामिङ र डेटाे बेस म्यानेजमेन्ट सिस्टम पनि रहेको छ ।

ऐच्छिक कम्प्युटरमा क्यु बेसिक र सी प्रोग्रामिङ रहेका छन् । त्यस्तै वेब डेभलपमेन्ट गर्न एचटीएमएल, सीएसएस जस्ता विषय रहेका छन् । समग्रमा कम्प्युटर प्रविधिबारे उच्च शिक्षा हासिल गर्न चाहिने आधारभूत क्षमता विकास गर्ने जस्ता विषय रहेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८० १८:१३