काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ एवम् प्रतिनिधि सभा सांसद आरजू राणा देउवाले सांसदहरूको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग गरेकी छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी उनले यस्तो माग राखेकी हुन् ।
"मेरो श्रीमान् आजसम्म पाँच/छ चोटी प्रधानमन्त्री भइसक्नु भएको छ," सांसद राणाले भनिन्, "हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । म एउटा अनुरोध गर्न चाहन्छु कि हामी जति पनि सांसद छौं, जहिलेदेखि बनेका छौं, सबैको सम्पत्ति विवरण प्रकाशित होस् र, हाम्रो वेबसाइटमा राखियोस् । जनता सबैले देखोस् ।"
उनले अगाडि भनिन्, "कसको के थियो कहिले देखि थियो । कसको बढ्यो । कसको घट्यो, के स्रोत हो । हामी साँच्चिकै गर्ने हो भने सबैको सार्वजनिक होस् ।"
नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचार प्रकरणमा मुछिएकी राणाले आफूमाथि लागेको रोपको प्रतिवाद गर्दै आफ्नो दलिल पेश गरेकी थिइन् ।