काठमाडौं । नेपाली बजारमा एफडी मोटर्सको विद्युतीय स्कुटर सार्वजनिक भएको छ । शनिबार राजधानीमा आयोजित एक समारोहमा एफडी मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले एफ फाइभ र एफ फाइभ-ए मोडेलका स्कुटर सार्वजनिक गरेको हो ।
कम्पनीले एफ फाइभ र एफ फाइभ-एलाई नेपाली माटोसँग सुहाउने स्कुटरका रूपमा लिएको छ । इटालियन इन्जिनियरले डिजाइन गरी चिनमा एसेम्बल भएको यो स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ ।
ब्याट्री, मोटर, कन्ट्रोलर, टायर तथा अन्य पाटपुर्जाहरू उच्च गुणस्तरयुक्त रहेको कम्पनीको भनाइ छ ।
कस्तो छ एफ फाइभ-ए ?
कम्पनीले नेपालमा ल्याएको एफ फाइभ एमा ६० भोल्ट ३००० वाटको मोटर रहेको छ । त्यस्तै ६० भोल्ट ४५ एम्पियरको लिथियम फेरो फोस्फेट ब्याट्री रहेको छ । 'क्यान बस कम्प्युनिकेसन' कन्ट्रोलर रहेको एफ फाइभ-एमा प्रतिघण्टा ७५ किलोमिटरको टप स्पिड रहेको छ । फूल चार्ज गर्न सामान्य चार्जरबाट साढे चार घण्टा लाग्छ भने फास्ट चार्जरले दुई घण्टामै फूल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । एक पटकको फूल चार्जमा ९० देखि ११० किलोमिटर चलाउन सकिन्छ ।
स्कुटरमा सीबीएस सहितको रिजेनेरेटिभ डिस ब्रेक रहेको छ । कम्पनीले यस स्कुटरको ब्याट्रीमा तीन वर्षको वारेन्टी र मोटरमा दुई वर्षको वारेन्टी दिएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा दुई लाख ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
कस्तो छ एफ फाइभ ?
कम्पनीले भित्र्याएको अर्को मोडेल हो एफ फाइभ । जसमा ६० भोल्ट ३००० वाटको मोटर रहेको छ । त्यस्तै ६० भोल्ट ३० एम्पियरको लिफियम फेरो फोस्फेट ब्याट्री रहेको छ । यसको धेरैजसो फिचरहरू एफ फाइभ-ए जस्तै छ । यसमा पनि 'क्यान बस कम्प्युनिकेसन' कन्ट्रोलर रहेको एफ फाइभ-एमा प्रतिघण्टा ७५ किलोमिटरको टप स्पिड रहेको छ । साथै फूल चार्ज गर्न सामान्य चार्जरबाट साढे चार घण्टा लाग्छ भने फास्ट चार्जरले दुई घण्टामै फूल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चार्जमा ७० देखि ९० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा दुई लाख ४८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।