close

२० मिनेटमै ८० प्रतिशत चार्ज हुने याडियाको इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन ८, २०८२ १८:१४

२० मिनेटमै ८० प्रतिशत चार्ज हुने याडियाको इलेक्ट्रिक स्कुटर सार्वजनिक हुँदै, कति होला मूल्य ?

काठमाडौँ । याडियाको भेलेक्स सिरिजका विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले आउँदै गरेको नाइमा अटो शो २०२५ मार्फत यो सिरिजमा तीन ओटा इलेक्ट्रिक स्कुटरहरू बजारमा ल्याउने भएको हो ।

भेलेक्स फास्ट चार्जिङ, भेलेक्स यू: अल्ट्रा पर्फर्मेन्स र भेलेक्स एचः हाई पर्फर्मेन्स गरी तीन मोडलमा आउने स्कुटरहरूले नेपाली प्रयोगकर्ताहरूलाई सहरी मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । 

याडिया भेलेक्स सिरिजमार्फत नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई कम्पनीले नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ । जहाँ ग्राहकहरूले फास्ट चार्जिङ, हाई पर्फर्मेन्स वा बजेटमैत्री विकल्पहरू छनोट गर्न सक्नेछन् ।

भेलेक्स फास्ट चार्जिङ मोडल व्यस्त जीवनशैली अपनाउने र छिटो चार्जिङ गर्नुपर्ने आवश्यकता भएका प्रयोगकर्ताका लागि डिजाइन गरिएको हो । यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ । यसमा ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्री छ, जसले ११० किमी सम्मको रेञ्ज दिने बताइएको छ ।

कम्पनीका अनुसार ३२०० वाटको मोटर, ६२ किमी प्रति घण्टाको टप स्पिड र १७२ एनएम टर्क रहेको यो स्कुटरले फास्ट चार्जिङसँगै भरपर्दो पर्फर्मेन्स प्रदान गर्छ । विशेषगरी डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि यो उपयुक्त विकल्प हुन सक्छ ।

भेलेक्स यू (अल्ट्रा पर्फर्मेन्स) स्कुटर याडियाको प्रमुख मोडल हो । डुअल ७४ भोल्ट २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित यो स्कुटरमा १४० किमी सम्मको रेन्ज रहेको छ । साथै यो स्कुटरमा ४९०० वाटको शक्तिशाली मोटर, ८० किमी प्रति घण्टाको टप स्पिड र १७६ एनएम टर्क रहेको छ ।

सिरिजको तेस्रो मोडलको रूपमा रहेको भेलेक्स एच खासगरी दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध विकल्प हो । यसमा ७२ भोल्ट ३० एएच ब्याट्री राखिएको छ, जसले १०० किमीसम्मको रेन्ज दिने बताइएको छ । ३२०० वाट मोटर, ६२ किमी प्रति घण्टाको टप स्पिड रहेको भेलेक्स एचले १७२ एनएम टर्क उत्पन्न गर्न सक्छ ।

स्कुटरका थप विशेषता, मूल्य र उपलब्धता सम्बन्धी जानकारी सार्वजनिक कार्यक्रममै खुलासा गरिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ १८:१४