close

ब्रेक लगाउँदा आफैं चार्ज हुने टीभीएसको बिजुली स्कुटर नेपालमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ २२, २०८० १४:२१

ब्रेक लगाउँदा आफैं चार्ज हुने टीभीएसको बिजुली स्कुटर नेपालमा, कति होला मूल्य ?

 

काठमाडौं । नेपाली बजारमा टीभीएसको विद्युतीय स्कुटर सार्वजनिक हुने भएको छ । यही २६ भदौदेखि राजधानीमा हुन गइरहेको नाडा अटो शोमा नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले 'टीभीएस आईक्यूब' सार्वजनिक गर्न लागेको हो ।

कार्य सम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यो विद्युतीय स्कुटरले नेपालीहरूको दैनिक आवत–जावतलाई अझै सहज बनाउने कम्पनीकाे अपेक्षा छ । 

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्न टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटर भित्र्याइएको बताए ।

“आधुनिक सहरका सचेत नागरिकहरूका लागि आकर्षक मूल्यमा नवीनतम विकल्प प्रदान गर्ने उद्देश्यका साथ हामीले  यो स्कुटर नेपाली बजारमा ल्याएका हौं,” उनले भने ।

तीन किलोवाटको बलियो बीएलडीसी हब मोटर प्रयोग गरिएको टीभीएस आईक्यूबको पर्फर्मेन्स उत्कृष्ट  रहेको कम्पनीको दाबी छ । अधिकतम ४.४० किलोवाट पावर तथा १४० एनएम टर्क भएकाले यो विद्युतीय स्कुटरले भिडभाड भएको ट्राफिकमा समेत स्पीडसँगै तुरुन्तै अगाडि बढ्न सक्ने क्षमता राख्दछ । 

यो स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ । 

३.०४ किलोवाट आवर लिथियम–आयन ब्याट्री राखिएको टीभीएस आईक्यूबले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्ने बताइएको छ । 

दैनिक यात्राको लागि भरपर्दो विकल्प हुने ठानिएको यो स्कुटरसँगै पाँच घण्टामा १०० प्रतिशतसम्म चार्ज गर्न सकिने पोर्टेबल चार्जर पनि आउँछ । चालकहरूले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यो स्कुटर चलाउन सक्नेछन् । 

साघुरा सडक ट्राफिकमा पनि सजिलैसँग एक्सिरेलेट गर्न सकिने यो दुई पाङ्ग्रे विद्युतीय सवारीमा एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर पनि पाउन सकिन्छ । स्कुटरमा आफ्नो स्मार्टफोन ब्लुटुथमार्फत कनेक्ट गरी आगमन कल तथा एसएमएस अलर्ट, नेभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको स्थान तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचर समावेश छन् । 

स्कुटरमा राखिएको सात इन्चको मल्टिफङ्सनल स्क्रिनले सबै स्मार्ट कनेक्ट फिचरलाई सहजै प्रयोग गर्न सकिने बनाएको छ । रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएकाले टीभीएस आईक्यूबको यात्रा सहज हुनुका साथै ऊर्जा पनि कम खपत हुन्छ ।

त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यसमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक अब्जर्बर सस्पेन्सन प्रयोग गरिएको छ । टीभीएस आईक्यूबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हलुका र प्रयोगकर्तामैत्री रहेको छ ।

यो नयाँँ इलेक्ट्रिक स्कुटर नाडा अटो शो अवधिभर टीभीएसको स्टलमा प्रदर्शन गरिनेछ। सहभागीहरूले स्टलमा आएर यसमा राखिएका सुविधाहरू नियाल्न सक्ने र टेस्ट ड्राइभ गर्ने अवसर समेत पाउनेछन् ।

भारतीय बजारमा एक लाख २३ हजार ७७६ भारु (करिब एक लाख ९८ हजार रुपैयाँ) पर्ने यो स्कुटरको नेपाली बजार मूल्य भने खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २२, २०८० १४:२१