close

डिजिटल डिभाइड नेपालको मुख्य चुनौती: मन्त्री शर्मा

टेकपाना टेकपाना

जेठ ३, २०८० १२:२१

डिजिटल डिभाइड नेपालको मुख्य चुनौती: मन्त्री शर्मा

काठमाडौं । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको मुख्य चुनौती डिजिटल डिभाइड रहेको बताएकी छिन् ।

वर्ल्ड टेलिकम्युनिकेसन एण्ड इन्फरमेसन सोसाइटी डे (डब्लूटीआईएसडी) को अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले नेपालमा भएको डिजिटल डिभाइडलाई हटाउन आवश्यक भएको बताएकी हुन् । 

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले एकातिर फाइभजी योजनाको तयारी भइरहँदा अर्कातिर भने देशको विकट ठाउँहरूमा बस्ने जनताहरू सञ्चारको पहुँचमा नै पुग्न नसकेको कुरा व्यक्त गरिन् ।

"हामीले पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने विषयमा मिलेर काम गर्नु जरुरी छ," उनले भनिन्, "विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दुरदराजमा रहेका जनताहरूले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् ।" 

छिमेकी देश भारतले सिक्सीजीको परीक्षण सुरु गर्न लाग्दा नेपाल भने फाइभजीमा पनि पुग्न नसकेको कुरामा उनले बताइन् । एकातिर सञ्चारको पहुँच पुर्‍याउने चुनौती छ भने अर्कातिर विश्वबजारको प्रतिस्पर्धामा पनि उभिनुपर्ने भएका कारण देशमा विद्यमान डिजिटल डिभाइडलाई कम गर्ने कुरामा ध्यान दिनुपर्ने उनले बताइन् ।  

"हाम्रो कमजोरी कहाँनिर हो हामीले समिक्षा गर्नु जरुरी छ । प्राविधिक, नीतिगत लगायत अन्य कमिकमजोरी हेर्नुपर्ने छ," उनले भनिन् । उनले सेवा विस्तार र प्रविधि विकासको कामलाई सँगसँगै लानको लागि सेवाप्रदायक, प्राधिकरण र मन्त्रालयले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिइन् । 
 
 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० १२:२२