close

विदेशी ह्याकरको निशानामा ट्राभल एजेन्सी, फिशिङ आक्रमण गरी बैंक खाताबाट लाखौं रकम चोरी

टेकपाना टेकपाना

जेठ २४, २०८० १९:३९

विदेशी ह्याकरको निशानामा ट्राभल एजेन्सी, फिशिङ आक्रमण गरी बैंक खाताबाट लाखौं रकम चोरी

काठमाडौं । विदेशी ह्याकरले जहाजको टिकट काट्ने विभिन्न नेपाली ट्राभल एजेन्सीलाई निशानामा राखी बैंकको रकम चोरी गरेको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोमा रकम चाेरी भएकाे भन्दै ट्राभल एजेन्सी सञ्चालकले उजुरी दिएपछि यस्ताे तथ्य फेला परेकाे हाे ।

उस्तै प्रकृतिका उजुरी आउनेक्रम बढेपछि अनुसन्धान थाल्दा विदेशी ह्याकरले ट्राभल एजेन्सीकाे अनलाइन सिस्टममा पहुँच बनाएकाे पाइएकाे साइबर ब्यूरोले जनाएकाे छ । यसपछि नेपाल पर्यटन बोर्डमार्फत ब्यूराेले ट्राभल एजेन्सीलाई सचेत रहन अनुरोध गरेको छ ।

टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले भने, “केही दिनदेखि चार-पाँच जना ट्राभल एजेन्सीका सञ्चालकहरू बैंकबाट रकम चोरी भएको र विदेशको टिकट इस्यु भएको भन्दै उजुरी दिन आउनुभएको थियो । अनुसन्धानका क्रममा विदेशी ह्याकरले फिशिङ आक्रमण गरी युजरनेम र पासवर्ड लिएर रकम चोरी गरेको देखिएको छ ।”

ब्यूरोका अनुसार उजुरी दिन आउने सञ्चालकहरूको बैंक अकाउन्टबाट औसत ५० लाख रुपैयाँ गायब छ ।

“ट्राभल एजेन्सीमा ठूलो रकममा हुने भएकाले उहाँहरू ह्याकरको निशानामा पर्नु भएको छ । एकैपटक ठूलो रकम चोरी हुने भएकाले बेलैमा सचेत गराएका छौं,” रायले भने ।

ब्यूराेले यस विषयमा टिकेटिङ गर्ने ट्राभल एजेन्सीलाई समयमै जानकारी गराउन पर्यटन बाेर्डसँग अनुरोध गरेको छ । साथै अनुसन्धानका सिलसिलामा प्रहरीले मागेका सूचना सम्बन्धित एयरलाइन्स र सफ्टवेयर कम्पनीसँग समन्वय गरी उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १९:३९