काठमाडौं । पछिल्लो समय नेपालमा क्यूआर कोड मार्फत हुने अनलाइन भुक्तानीको प्रयोग बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा मात्रै यस्तो भुक्तानी झण्डै तीन गुणाले वृद्धि भएको हो ।
तथ्याङ्क अनुसार २०७९ वैशाखमा क्यूआर मार्फत १० अर्ब १९ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी क्यूआरमार्फत भएकोमा यस वर्षको वैशाखमा वृद्धि भएर २६ अर्ब पाँच करोड १० लाख रुपैयाँ नाघेको हो । गत वर्ष वैशाखमा भुक्तानीका लागि ३० लाख ७१ हजार ८४३ पटक क्यूआर कोड स्क्यान भएकोमा यस वर्षको वैशाखमा बढेर ८५ लाख ८७ हजार २२४ पटक क्यूआर कोड स्क्यान भएको छ ।
एक पटक क्यूआर स्क्यान गर्दा कति हुन्छ औसत भुक्तानी ? हाल नेपालीहरूले क्यूआर कोड मार्फत भुक्तानी गर्दा औसत तीन हजार ३४ रुपैयाँको कारोबार गर्ने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । जब कि गत वर्षको वैशाखमा यस्तो कारोबार रकम तीन हजार ३१८ रुपैयाँ रहेको थियो । यसबाट नेपाली उपभोक्ताले ससाना कारोबारमा समेत क्यूआर भुक्तानीको प्रयोग बढाउँदै लगेको स्पष्ट हुन्छ ।
गएको वैशाख महिनामा मोबाइल बैंकिङबाट दुई खर्ब १० अर्ब एक करोड रुपैयाँ, वालेटमार्फत १९ अर्ब २५ करोड ५० लाख रुपैयाँ, इन्टरनेट बैंकिङबाट १३ अर्ब ४५ करोड १० लाख रुपैयाँ र कनेक्ट आईपीएसबाट तीन खर्ब ५९ अर्ब ५२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।