close

के सेल्फी र भिडिओ खिच्न खोज्दा बर्दियामा चितुवाले आक्रमण गरेको हो ?

हिक्मत आचार्य हिक्मत आचार्य

जेठ २९, २०८० १८:५७

के सेल्फी र भिडिओ खिच्न खोज्दा बर्दियामा चितुवाले आक्रमण गरेको हो ?

काठमाडौं । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बन्तरियामा शनिबार दिउँसो करिब १ बजे स्थानीयको घरमा चितुवा पस्यो । चितुवा घरभित्र पसेपछि त्रसित गाउँलेले सुरुमा केही गरेनन् । धेरै समयसम्म बाहिर ननिस्केपछि स्थानीयले उद्दारकर्ता र बर्दिया राष्ट्रिय निकुञ्जलाई सम्पर्क गरे । त्यसपछि उद्धारकर्तासँगै राष्ट्रिय निकुञ्जका कर्मचारी चितुवा भएको स्थान पुगे ।

“चितुवा दुई-तीन घण्टा घरभित्र थुनिएको थियो क्यारे,” चितुवाको आक्रमणमा परेका रामजान चौधरीले भने, “हामीले उसलाई पूर्वतिर बाटो छोड्यौं भने जान्छ भन्ने लाग्यो । तर, मान्छे नभएकोतिर नगएर हामी भएतिर आयो ।”

चितुवा मान्छेतिर आएर एक जना महिलालाई आक्रमण गरेको उनले सुनाए । त्यसपछि चितुवा नजिकैको मकैबारीमा लुक्यो । खोजकर्तामध्ये रामजानसँग क्यामेरा थियो । अन्य केहीले भने टाढैबाट भिडिओ बनाइरहेका थिए ।

मकैबारीबाट निस्किएको चितुवा एक्कासि मानिसहरूको हुलमा आयो । सबैभन्दा अगाडि रहेका रामजान चौधरीलाई चितुवाले झम्टियो र उनी भूईंमा पछारिए । उनको गलामा भएको क्यामेरा सुरक्षाका लागि हातमा निकाले ।

प्रतिरक्षाका लागि मानिसहरूले चितुवामाथि लाठी बर्साए । त्यसपछि राष्ट्रिय निकुञ्जकाे टोलीले चितुवालाई डार्ट गरी नियन्त्रणमा लिए ।

तर, विभिन्न सञ्चार माध्यमबाट चितुवासँग सेल्फी र भिडिओ खिच्न खोजेपछि आक्रमण गरेको भन्ने भ्रम फैलाइएको भन्दै रामजान चौधरीले गुनासो गरेका छन् ।

“मिडियामा आएको जस्तो २०/२५ जनालाे क्यामेरा समातेर भिडिओ र सेल्फी खिच्न खोज्दा आक्रमण गरेको होइन,” उनले भने, “गाउँमा चितुवा पसेपछि त्रसित भएर सबै एक ठाउँमा जम्मा भएको चाहिँ हो । टाढाबाट केहीले भिडिओ बनाउनु भएको पनि छ । तर, भिडिओ खिच्दा आक्रमण गरेको खबर झुटो हो ।”

रामजान पेसाले प्रकृति पथ प्रदर्शक (नेचर गाइड) हुन् भने प्यासनले फोटोग्राफर । उनी यात्रामा निस्किँदा सधैंजसो क्यामेरा बोक्छन् । त्यस दिन पनि उनले गलामा क्यामेरा बोकेका थिए । तर, मिडियामा भने सेल्फी खिच्दा आक्रमण गरेको भन्ने झुटो खबर फैलिएको स्थानीयको गुनासो छ ।

उद्दार गर्न खटिएका हेमन्त आचार्यले भने, “भिडिओ खिच्दा हो वा चितुवा सोझै बारीबाट निस्किएर आक्रमण गरेको हो भन्ने त भिडिओमा हेरेर थाहा हुन्छ । आक्रमणमा परेका पाँच जनामध्ये रामजान दाइबाहेक अरू कसैसँग पनि क्यामेरा थिएन ।” घाइते भएका पाँचै जनाले शनिबार स्थानीय स्वास्थ चौकीमा रेबिजको सुई समेत लगाइसकेको चौधरीले बताए । 

यस्तो छ भिडिओ

पछिल्लो अध्यावधिक: जेठ २९, २०८० १९:९