close

वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने, तर बैंक ट्रान्सफर गर्दा २५ हजारको सीमा किन ?

टेकपाना टेकपाना

असार ४, २०८० १३:४२

वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने, तर बैंक ट्रान्सफर गर्दा २५ हजारको सीमा किन ?

काठमाडौं । डिजिटल वालेटमा रेमिट्यान्स रकम प्राप्त गर्न सहज भए पनि बैंक ट्रान्सफर गर्न भने झन्झटिलो देखिएको छ । वालेटबाट एक पटकमा २५ हजार रुपैयाँभन्दा बढी बैंक ट्रान्सफर गर्न नमिल्दा ठूलो यस्ताे असहजता देखिएको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले वालेटमा प्राप्त रेमिट्यान्स रकम  बैंक ट्रान्सफर गर्दा २५ हजार रुपैयाँको सीमा कायम रहेको कुरा आफूले कल्पना नगरेको बताए ।

“नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको एकीकृत निर्देशिका अनुसार वालेटमा रेमिट्यान्स प्राप्त गर्दा त्यसमा कुनै सीमा नलाग्ने व्यवस्था छ,” उनले भने, “अर्को चाहिँ वालेटमा ५० हजार रुपैयाँभन्दा बढी रकम ‘ओभरनाइट’ राख्न नहुने सीमा छ ।” 

वालेटमा रेमिट्यान्स आउँछ भने ग्राहकले त्यसको बारेमा सम्बन्धित भुक्तानी सेवा प्रदायक कम्पनीलाई जानकारी गराउनुपर्ने पौडेलले बताए । 

“राष्ट्र बैंकले डिजिटल वालेट बैंक अकाउन्टसँग लिङ्क गरिएको हुनुपर्ने व्यवस्था गरेको छ,” उनले भने, “वालेटमा जति रकम आए पनि ओभर नाइट ५० हजारभन्दा बढी रकम त्यसमा नरहने गरी बैंक खातामा पठाउनुपर्ने हुन्छ । यदि बैंकमा पठाउने रकममै सीमा लगाउने हो भने वालेटमा आएको रेमिट्यान्स कहाँ लाने ? बत्ती, पानीको पैसा तिरेर मात्रै रेमिट्यान्स सकिँदैन ।” 

कार्यकारी निर्देशक पौडेलले वालेटमा रेमिट्यान्स प्राप्त गर्ने प्रयोगकर्तालाई  बैंक अकाउन्टसँग अनिवार्य रूपमा लिङ्क गराउने कुरामा ध्यान दिन आग्रह गरे । “हामीसँग नीति छ, तर त्यो कार्यान्वयन हुन नसकेको कुरामा चिन्तित भएँ,” उनले भने ।

आईएमई रेमिट र आईएमई पे नामक वालेट सञ्चालन गरिरहेको आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले वालेटको उद्देश्य नै वालेटमा आएको पैसा त्यहींबाट खर्च गराउने रहेको बताए ।

“त्यसैले वालेट आफ्नो इकोसिस्टमबाट पैसा बाहिर जाओस् भन्ने चाहँदैनन्, बरु आफ्नै इकोसिस्टमभित्रै खर्च होस् भन्नेमा जोड दिन्छन्,” उनले भने, “यदि वालेटमा रेमिट्यान्स ल्याउने हो भने नियमनको क्षेत्रमा ठूलो हस्तक्षेप चाहिन्छ । प्रयोगकर्ताले वालेट कम्पनीलाई जानकारी गराउने कुरा त्यति व्यवहारिक नहोला ।”

पछिल्लो अध्यावधिक: असार ५, २०८० १३:५