close

अब साइबर अपराधको मुद्दा सबै जिल्ला अदालतले हेर्ने

टेकपाना टेकपाना

असार ६, २०८० १६:४५

अब साइबर अपराधको मुद्दा सबै जिल्ला अदालतले हेर्ने

काठमाडौं । अब साइबर अपराध सम्बन्धी सम्पूर्ण मुद्दाहरू सम्बन्धित जिल्लाको जिल्ला अदालतले नै हेर्ने गरि नेपाल सरकारले व्यवस्था मिलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  विद्युतीय कारोबार एेन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम र सोही ऐन परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसुरहरूको कारबाही सुरु गर्ने तथा निर्णय लिने अधिकार सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको हो । 

नेपाल सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयको प्रस्तावमा यो निर्णय पारित गरिएको बताएकी हुन् ।

साइबर अपराधका मुद्दा मामिलाहरू सम्बन्धित जिल्ला अदालतले नै हेर्ने व्यवस्थाले आम जनतालाई सहज हुने भएकोले सो उद्देश्यका साथ यो निर्णय गरिएको उनले बताइन् । 

यो भन्दा अगाडि साइबर अपराध सम्बन्धी मुद्दाहरू काठमाडौं जिल्ला अदालतले नै हेर्ने प्रावधान थियो । यसले गर्दा उपत्यका बाहिरका सर्वसाधारणलाई साइबर अपराधका मुद्दा सम्बन्धी काम गर्न काठमाडौं नै आउनुपर्ने वाध्यता थियो । अब भने यो वाध्यता हट्नेछ । 
 

पछिल्लो अध्यावधिक: असार ६, २०८० १६:४६