close

युट्युबमा फ्यान अकाउन्टका लागि नयाँ नियम, स्पष्ट नाम नराखे च्यानल हटाइने

टेकपाना टेकपाना

असार ११, २०८० ७:५९

युट्युबमा फ्यान अकाउन्टका लागि नयाँ नियम, स्पष्ट नाम नराखे च्यानल हटाइने

काठमाडौं । युट्युबले अगस्ट २१ देखि फ्यान अकाउन्ट बनाउनेका लागि स्पष्ट रूपमा च्यानलको प्रकार खुलाउनुपर्ने नीति ल्याउन लागेको छ । 

पछिल्लो समय कलाकार, ब्रान्ड र क्रियटरको नाम प्रयोग गरेर उनीहरूका कन्टेन्ट राख्ने प्रवृत्ति बढेको भन्दै युट्युबले यस्तो नीति ल्याउन लागेको हो ।  

युट्युबको मातृ कम्पनी गुगलले शुक्रबार सार्वजनिक गरेको ब्लगमा फ्यान अकाउन्टले च्यानलको नाम वा ह्यान्डलमा सो च्यानल आधिकारिक कलाकार, ब्रान्ड वा क्रियटरसँग आवद्ध छैन भन्ने कुरा उल्लेख गर्नुपर्ने भनिएको छ । 

यदि फ्यान अकाउन्ट युट्युबको गाइडलाइन्स अनुसार नचलेको अवस्थामा उनीहरूको च्यानल डिलिट गरिने कम्पनीको चेतावनी छ । 

कम्पनीका अनुसार आफूलाई ‘फ्यान अकाउन्ट’ दाबी गर्ने च्यानल आधिकारिक च्यानलका रूपमा प्रस्तुत हुन वा आधिकारिक च्यानलामा अपलोड भएका कन्टेन्ट अपलोड गर्न पाइने छैन । 

त्यस्तै यो नीति अन्तर्गत नाम, ब्यानर र अवतार पनि आधिकारिक च्यानलको राख्न पाइने छैन । उदाहरणका लागि फ्यान अकाउन्टले आधिकारिक च्यानलको कुनै नाममा एक दुई अक्षर वा अङ्क थपघट गरेर पनि च्यानलको नाम वा ह्यान्डल राख्न पाउने छैनन् । 

यस अपडेटले वास्तविक क्रियटरको मौलिक सामग्री र च्यानल जोगिने कम्पनीको विश्वास छ । टेकक्रन्चका अनुसार युट्युबले फ्यान अकाउन्टलाई लिएर यसअघि यस्तो गाइडलाइन्स ल्याएको थिएन । 

यदि फ्यान अकाउन्ट युट्युबको गाइडलाइन्स अनुसार नचलेको अवस्थामा उनीहरूको च्यानल डिलिट गरिने कम्पनीको चेतावनी छ । 

पछिल्लो अध्यावधिक: असार ११, २०८० ७:५९