close

बेटिङ प्रकरणमा कलाकार/युट्युबरमाथिको अनुसन्धान सकिएन, पुनः ५ दिन म्याद थप

टेकपाना टेकपाना

असार ११, २०८० ११:४८

बेटिङ प्रकरणमा कलाकार/युट्युबरमाथिको अनुसन्धान सकिएन, पुनः ५ दिन म्याद थप

काठमाडौं । गैरकानूनी अनलाइन जुवा (वनएक्स बेट) खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका आठ जना कलाकार तथा युट्युबरमाथि अनुसन्धान गर्न पुनः पाँच दिन म्याद थपिएकाे छ । यसअघि छ दिनको म्याद थप गरेर भइरहेकाे उनीहरूमाथि अनुसन्धान भइरहेकोमा जिल्ला अदालत काठमाडाैंले पुनः अर्काे म्याद प्रदान गरेकाे हाे ।

अवैध अनलाइन सट्टेबाजीको प्रचार गरेको आरोपमा जेठ ३० गते काठमाडौं तथा भक्तपुरका विभिन्न ठाउँबाट आठ जना युट्युबर र कलाकार पक्राउ परेका थिए । त्यतिबेला जिल्ला अदालतले प्रहरीलाई चार दिनको म्याद दिएको थियो ।

वनएक्स बेटको प्रचार गरेको आरोपमा कलाकार युट्युबरहरू मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी) एलिस राई, जलन घर्तिमगर (जलन), गणेश देवकोटा (गणेश जीडी), सरोज घिमिरे (ढेडु बुढो) र ‍बेगम नेपाली (भटभटे माइला) पक्राउ परेका थिए ।

उनीहरूलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसूरमा परिसरमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक सिताराम रिजालले टेकपानालाई जानकारी दिए ।

वनएक्स बेटमार्फत ६४ करोड बढीको सट्टेबाजी गराउने पाँच एजेन्टहरूलाई जेठ ३१ गते बुधबार सार्वजनिक गरेपछि यसको प्रचारमा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन थालेको छ । योसँगै युट्युब च्यानलबाट अवैध सट्टेबाजीमा संलग्न भएको आरोपमा अर्का एक युट्युबर राजकुमार थापा भनिने राज कुमार तामाङ शुक्रबार पक्राउ परेका छन् ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को ९२० को उपदफा ९१० को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा ९ख०मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८० ११:४८