close

ह्याकरले कुनैपनि समयमा सरकारी वेबसाइट र डेटा सेन्टर ह्याक गर्न सक्छन्ः सभामुख पाठक

टेकपाना टेकपाना

असार २१, २०८० १७:२१

ह्याकरले कुनैपनि समयमा सरकारी वेबसाइट र डेटा सेन्टर ह्याक गर्न सक्छन्ः सभामुख पाठक

काठमाडौं । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले सरकारका वेबसाइट तथा डेटा सेन्टर सुरक्षित हुन नसकेको बताएका छन् । बिहीबार हेटौंडामा आयोजित एक कार्यक्रममा सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेबसाइट र डाटा सेन्टरहरू ह्याक गर्नसक्ने भनाइ राखे ।

सरकारका कामहरू पेपरलेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरूलाई सुरक्षित गर्नु जरुरी रहेको उनको भनाइ थियो ।  ''हामी पेपरलेस गभर्नेन्सतर्फ अघि बढिरहेका छौं । तर, हाम्रो सरकारको वेबसाइट र डेटा सेन्टरहरू सुरक्षित छैनन् । कनै पनि समय हाम्रा वेबसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन् ।''

उनले अगाडि भने, ''सरकारले आफ्नो सिस्टम विकास गरेर वेबसाइट र डेटा सेन्टरहरूलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनीकरणमा जोड दिनुपर्छ ।''

नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरूका लागि 'इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग' विषयक तालिम कार्यक्रममा बोल्दै उनले सरकारले साइबार अपराध न्यूनीकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको धारणा राखे ।

बागमती प्रदेशका ८० जना प्रदेश सभा सदस्यहरूकाे उपस्थिति रहेको उक्त तालिममा बोल्दै क्यान महासंघ नेपालका महासचिव एवं साइबर सुरक्षा जानकार चिरञ्जिवी अधिकारीले तिनै तहका सरकारले इथिकल ह्याकरलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कार्यक्रमकाे अध्यक्षता गरेका नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायले ७७ ओटै जिल्लाका स्थानीय तहमा दूरसञ्चार र ब्रोडव्यान्ड इन्टरनेट सेवाको विस्तार भइरहँदा चुनौती पनि सोही अनुसार बढिरहेको भनाइ राखे ।

पछिल्लो अध्यावधिक: असार २१, २०८० १७:५९