close

फेसबुकमा कस्ता व्यक्तिलाई साथी बनाउने ?

टेकपाना टेकपाना

असार २३, २०८० १९:३४

फेसबुकमा कस्ता व्यक्तिलाई साथी बनाउने ?

काठमाडौं । आजको डिजिटल युगमा सामाजिक सञ्जालका प्लेटफर्महरू हाम्रो जीवनको अभिन्न अङ्ग बनेका छन् । साथी, परिवार तथा परिचितहरूसँग जोडिनका मात्रै होइन, सूचना र मनोरञ्जनका लागि पनि सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसमध्ये फेसबुक सर्वाधिक लोकप्रिय प्लेटफर्म हो ।

फेसबुकमा हजारौं व्यक्तिसँग एकैपटक जोडिन सकिन्छ । तर सबै व्यक्ति तपाईँका लागि उपयोगी हुँदैनन् । आफूले नचिनेको व्यक्ति वा अकाउन्टसँग जोडिँदा तपाईँले गलत सूचना मात्रै होइन, आफ्नो सुरक्षा र गोपनीयतासमेत गुमाउन सक्नुहुन्छ । यति मात्रै नभई, तपाईँ गम्भीर किसिमका सामाजिक र विद्युतीय अपराधको शिकार हुन सक्नुहुन्छ ।

यसकारण डिजिटल युगमा आफूलाई सुरक्षित राख्ने पहिलो कर्तव्य तपाईँकै हो । आज हामी फेसबुक अकाउन्टमा कस्ता व्यक्तिलाई साथीका रूपमा राख्ने र कस्तालाई नराख्ने भन्ने विषयमा चर्चा गर्दै छाैं ।

परिचित व्यक्तिसँग जाेडिनुहाेस्

तपाईंले व्यक्तिगत रूपमा चिन्नुभएको र विश्वास गर्ने व्यक्तिहरूसँग मात्र फेसबुकमा जाेडिनुहाेस्, जस्तै; नजिकका साथीहरू, परिवारका सदस्यहरू वा सहकर्मीहरू । यी यस्ता व्यक्तिहरू हुन्, जाेसँग अनलाइनमा बाहेक अन्य रूपमा पनि तपाईं नजिक हुनुहुन्छ ।

फेसबुकमा धेरै फ्रेन्ड बनाउने चक्करमा कहिल्यै नलाग्नुहोस् । तपाईंलाई काम लाग्ने व्यक्तिहरूलाई सञ्जालमा नजोड्नुहोस् । नचिनेको वा रहस्यमयी अकाउन्टबाट सधैं टाढा रहेकै राम्राे हुन्छ ।

आधिकारिक अकाउन्ट पहिचान गर्नुहोस्

फेसबुकमा भएका सबै अकाउन्ट आधिकारिक व्यक्ति/कम्पनी/संस्थाको हुँदैन । चिनेकै व्यक्तिको नाम र फोटो दुरुपयोग गरेर अन्यले अकाउन्ट बनाउन सक्छन् । तसर्थ उक्त अकाउन्टमा पोस्ट हुने सामग्री, म्युचुअल फ्रेन्ड आदि हेरेर मात्र निर्णय लिनुहाेस् ।

नाम चलेका व्यक्ति र कम्पनीहरूले आफ्नो अकाउन्ट भेरिफाइड गराएका हुन्छन् । त्यस्ता अकाउन्टमा निलो चेकमार्क (भेरिफाइड ब्याज) हुन्छ । भेरिफाइड अकाउन्टमा जोडिँदा ठगी वा गलत सूचना फैलने जोखिम कम हुन्छ ।

अर्कोतर्फ भेरिफाइड ब्याज नभएका अकाउन्टहरूसँग जोडिनै परे आवश्यक कुरा अध्ययन गरेर मात्रै पहिचान गर्नुहोस् । व्यक्ति वा संस्थाको वास्तविक फोटो, कन्ट्याक्ट डिटेल्स, पोस्ट भएका सामग्रीहरू, अन्य सामाजिक सञ्जालमा उसकाे उपस्थिति, प्रयाेगकर्ताहरूकाे विश्वास आदि हेरेर निर्णय लिनुहोस् ।

सकारात्मक सोच व्यक्तिलाई प्राथमिकता दिनुहोस्

सकारात्मक सोच भएका व्यक्तिसँग जोडिने र संवाद गर्ने प्रयास गर्नुहोस् । यसले गर्दा तपाईँलाई ऊर्जा मिल्छ । फेसबुकमा अहिले अरुको बारेमा गाली गर्ने, आलोचना गर्ने मानिसहरू धेरै नै भेटिन्छन् । यसबाट तपाईँमा पनि नकारात्मक सोच पैदा हुनसक्छ ।

यसकारण चिनेकै मानिसहरू पनि अरुलाई गाली गरिरहन्छन्, विवेक र धैर्य राख्दैनन् भने उनीहरूलाई बेवास्ता गर्नुहोस् ।

अनलाइन सुरक्षासँग सचेत व्यक्तिहरूसँग जोडिनुहोस्

अनलाइन सुरक्षासँग सचेत व्यक्तिहरूलाई आफ्नो फेसबुक अकाउन्टमा प्राथमिकता दिनुहोस् । फेसबुकमा उसका गतिविधि सुरक्षित र लाभदायी छन् या छैनन् पहिचान गर्नुहोस् । प्राइभेसी सेटिङहरू मिलाउने र व्यक्तिगत जानकारीको सुरक्षा गर्नसक्ने व्यक्तिहरूसँग जोडिँदा राम्रो हुन्छ । आफू पनि फेसबुककाे सुरक्षा प्रणाली अपनाउनुहाेस् ।

अनलाइन सुरक्षाको ज्ञान र जागरुकता प्रदर्शन गर्ने मानिसहरूसँग जाेडिँदा तपाईँले पनि धेरै कुरा जान्न पाउनुहुन्छ । यस्ता व्यक्तिले सामाजिक सञ्जालका प्लेटफर्महरूमा सुरक्षित रहन सहयाेग गर्छन् ।

सहयोगी अनलाइन कम्युनिटी पहिचान गर्नुहोस्

साइबर सुरक्षा, गोपनीयता वा अनलाइन सुरक्षामा केन्द्रित फेसबुक ग्रुप वा कम्युनिटीहरूमा सामेल हुनुहोस् । तपाईंको डिजिटल सुरक्षा बढाउन जानकारी र सुझावहरू शेयर गर्ने समान विचारधारा भएका व्यक्तिहरूसँग संलग्न हुँदा तपाईँले धेरै लाभ लिन सक्नुहुन्छ ।

र, याे पनि

माथिका सावधानीका साथै तपाईंले सामान्य साइबर सुरक्षा अभ्यासहरू अपनाउनुपर्छ । फेसबुकमा सार्वजनिक रूपमा हाेस् या मेसेजमा, कहिल्यै पनि व्यक्तिगत र संवेदनशील जानकारी शेयर नगर्नुहाेस् ।

त्यस्तै रहस्यमयी लिङ्कहरू कहिल्यै पनि क्लिक नगर्नुहाेस् । यदि फेसबुकमा तपाईँलाई कसैले यस्ता सस्पिसियस लिंकहरू पठाएका छन् भने उनीहरूलाई साथीको सूचीबाट हटाउनुहोस् । अर्काेतर्फ नियमित रूपमा आफ्नो प्राइभेसी सेटिङहरू रिभ्यु र अपडेट गर्न नभुल्नुहाेस् । 

पछिल्लो अध्यावधिक: असार २३, २०८० २२:१९