close

प्रेस चौतारी अध्यक्ष बस्नेतले गल्ती महसुस गरेपछि गृहमन्त्रीको सचिवालयले फिर्ता लियो उजुरी

टेकपाना टेकपाना

साउन ६, २०८० १५:२७

प्रेस चौतारी अध्यक्ष बस्नेतले गल्ती महसुस गरेपछि गृहमन्त्रीको सचिवालयले फिर्ता लियो उजुरी

काठमाडौं । नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले गल्ती महसुस गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले साइबर ब्यूरोमा दिएको उजुरी फिर्ता लिएको छ । शनिबार गृहमन्त्री श्रेष्ठसँगको भेटपछि सचिवालयको तर्फबाट ब्यूरोमा दायर भएको उजुरी फिर्ता लिने सहमति भएको हो ।

स्नेतले बुधबार साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ‘सुन पास गराएको’ भन्दै फेसबुकमा लेखेका थिए । यसपछि बिहीबार बस्नेतविरुद्ध गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका थिए । 

यस प्रकरणले गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक सञ्जालमा अतिरञ्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको भन्दै ब्यूराेमा उजुरी दर्ता गरिएकाे थियाे । 

तर ब्यूरोबाट पटक-पटक उपस्थित हुन आग्रह गरेपनि बस्नेतले अस्वीकार गर्दै आएका थिए । बरु उजुरी फिर्ता लिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रेस चाैतारीले चेतावनी दिँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।​

शनिबार गृहमन्त्रीसँगकाे भेटमा बस्नेतले भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गरेर भ्रमको खण्डन गर्ने र गलत सूचनाबाट पोस्ट भएकाले गल्ती महसुस गर्ने गरी सहमति भएकाे माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए ।

यसपछि बस्नेतले फेसबुकमा एक पाेस्ट लेख्दै आफ्नो समाचार स्रोत गलत परेकाले गृहमन्त्री श्रेष्ठकाे प्रतिष्ठामा पुगेको असरप्रति दुःख व्यक्त गरेका छन् ।

''छलफलबाट निचोड निकालियो- अहिलेसम्मको असहमतीको अन्त्य गर्ने,'' उनले फेसबुक पाेस्टमा लेखेका छन्, ''नेपाल प्रहरीको साइबर ब्यूरोमा सचिवालयबाट मेरोविरुद्ध हालेको उजुरी फिर्ता भएको छ । धन्यवाद माननीय गृहमन्त्री नारायणकाजी कमरेड ।''

उनले अगाडि लेखेका छन्, ''केही बुझाइमा फरक परेछ हामीबीच, तर नियत गलत थिएन । विमानस्थलमा बरामद सुन प्रकरणमा मैले प्रश्न गरेको थिएँ, त्यो प्रश्नले मेरो नियतमाथि नै प्रश्न उठाउने काम भयो गणेशजी भन्नुभयो, मेरो समाचार स्रोत गलत परेछ, त्यो कारणले तपाईँको प्रतिष्ठामा परेको असरप्रति दुःख व्यक्त गर्छु भने । उहाँले अंगालो हाल्नु भयो । समस्याको समाधान भयो ।''

पछिल्लो अध्यावधिक: साउन ६, २०८० १६:३