close

पछिल्लो वर्ष नेपाल भित्रिए साढे ११ हजार बिजुली गाडी, १० मध्ये सात चीनबाट

टेकपाना टेकपाना

साउन १४, २०८० १२:३५

पछिल्लो वर्ष नेपाल भित्रिए साढे ११ हजार बिजुली गाडी, १० मध्ये सात चीनबाट

 

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा ११ हजार ५१३ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कले नेपाल भित्रिने बिजुली गाडी मध्ये ६७ प्रतिशत (१० मध्ये करिब सात ओटा) चीनबाट आउने गरेको पाइएको छ । 

तथ्याङ्क अनुसार चीनबाट मात्रै एक वर्षको अवधिमा सात हजार ७६३ ओटा बिजुली गाडी नेपाल भित्रिएका छन् । चीनपछि दोस्रो स्थानमा रहेको भारतबाट सो अवधिमा तीन हजार ३४८ विद्युतीय सवारी नेपाल भित्रिएका छन्, जुन एक वर्षमा नेपाल भित्रिएका विद्युतीय गाडीको २९ प्रतिशत हो ।

त्यसपछि दक्षिण कोरियाबाट ३८१ ओटा र अन्य मुलुकबाट २१ ओटा बिजुली गाडी नेपाल आएको भन्सार विभागको तथ्याङ्क छ । 

गएको आर्थिक वर्ष भित्रिएका बिजुली गाडीमा सबैभन्दा धेरै तीन पाङ्ग्रे सवारी रहेका छन् । जसको सङ्ख्या छ हजार ९१४ रहेको छ । त्यस बाहेक एसेम्बल गर्न बाँकी अवस्थामा समेत ५४९ तीन पाङ्ग्रे विद्युतीय सवारी आयात भएका थिए ।

तीन पाङ्ग्रेपछि दोस्रो धेरै सङ्ख्यामा नेपाल भित्रिने बिजुली गाडीमा ५० किलोवाटसम्मका कार, झिप तथा भ्यान रहेका छन् । जसको सङ्ख्या तीन हजार ७५९ रहेको छ ।

सो किसिमका अन्य विद्युतीय सवारी ५१ देखि १०० किलोवाटसम्मका २७२ ओटा, १०१ देखि २०० किलोवाटसम्मका १५ ओटा र २०१ देखि ३०० किलोवाटसम्मका चार ओटा आयात भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जम्मा नौ हजार १२९ ओटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए । यस वर्ष त्यसभन्दा दुई हजार ३८४ युनिट अर्थात २६ प्रतिशत बढी विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । 

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १२:३५