close

महिलासँगको प्रेम सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील तस्वीर पठाउने तुलाराम प्रहरी फन्दामा*

टेकपाना टेकपाना

साउन २५, २०८० १६:३

महिलासँगको प्रेम सम्बन्ध बिग्रिएपछि आफन्तलाई अश्लील तस्वीर पठाउने तुलाराम प्रहरी फन्दामा*

काठमाडौं । शर्मिला शर्मा (नाम परिवर्तन) आफ्नै पसलमा रमाइरहेकी थिइन् । व्यवसाय ठीकै चलेको थियो । सामान्य लेखपढ गर्न जानेकी उनको पसलमा तुलाराम सारू नामका एक ग्राहक नियमित आउन थाले ।

नियमित आउजाउले ती ग्राहक पसल साहुनीसँग नजिकिए । एक दिन तुलारामले शर्मिलासँग ‘मसँग सिम कार्ड छैन, निकाल्नको लागि नागरिकता पनि छैन, फोन चलाउन तिम्रो सिम कार्ड दिनुपर्‍यो’ भनी मागे । शर्मिलाले पनि सजिलै उनलाई विश्वास गरिन् र आफ्नै नाममा झिकेको मोबाइलको सिम कार्ड प्रयोग गर्न दिइन् ।

यसपछि यी दुई फेसबुकमा साथी बने । कुराकानी चल्दै जाँदा उनीहरू प्रेम सम्बन्धमा परे । तुलारामले विवाह गर्छु भन्दै आश्वासन देखाए । उनको कुरा पत्याई सामाजिक सञ्जालमा शर्मिला झन् खुलेर गफिन थालिन् ।

विस्तारै तुलारामले विभिन्न दबाब र धम्की दिई मेसेन्जरको भिडिओ कलमा अश्लील हर्कत गर्न थाले । शर्मिलालाई पनि त्यसरी नै कुराकानी गर्न दबाब दिए ।

तुलारामले यी क्रियाकलाप शर्मिलाको जानकारी बिना स्क्रिन रेकर्ड गर्थे । जहिले पनि जुनसुकै समयमा अश्लील च्याट गर्न भन्दै उनले दबाब र धम्की दिन थाले ।

यसपछि शर्मिलाले तुलारामको फेसबुक प्रोफाइल ब्लक गरिन् । तर तुलाराम यसै रोकिएनन् । प्रोफाइल ब्लकपछि नक्कली फेसबुक प्रोफाइलबाट महिलाका अश्लील तस्वीरहरू आफन्त तथा साथीहरूलाई पठाइदिए ।

यसरी आफन्त र साथीहरूमाझ आफ्नो बेइज्जत र चरित्रहत्या भएपछि शर्मिलाले साइबर ब्यूरोमा उजुरी दिइन् । यसपछि अनुसन्धान गर्दा दैलेख महाबु गाउँपालिका-२ का ३९ वर्षीय तुलाराम सारु प्रहरीको फन्दामा परे ।

जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा सारूलाई मंगलबार पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतको आदेशबाट पाँच दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

साथै आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामग्री लगायतका व्यक्तिगत सामग्री तथा विवरणहरू अरुलाई अनावश्यक उपलब्ध नगराउन एवं विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्न ब्यूरोले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

(* समाचारको शीर्षक परिवर्तन गरिएको छ । सं.)

पछिल्लो अध्यावधिक: साउन २६, २०८० १४:४०