काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न भन्दै वाकिटकी बोकेर खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई प्रहरीले खाेजी थालेकाे छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले फाेटाेमा देखिएका व्यक्तिकाे खाेजी गर्न प्रहरीलाई निर्देशन दिएपछि यस विषयमा अनुसन्धान थालिएकाे हाे ।
“फोटो सामाजिक सञ्जालमा आएपछि हामीले अनुसन्धान गर्ने जिम्मा जिल्ला प्रहरी कार्यालयलाई दिएका छौं,” टेकपानासँग कुरा गर्दै कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी आनन्दवंश न्यौपानले भने, “हामीलाई ती व्यक्ति भेटिएको सूचना आइसकेको छैन । अझै खोजीकार्य भइरहेको छ ।”
प्रशासनको निर्देशनमा प्रहरीले वाकिटकी प्रयोग गर्ने व्यक्तिहरूको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार वाकिटकी प्रयोगका लागि त्यतिबेला इजाजत प्रदान नगरिएकाले ती व्यक्ति चितवनका थिए/थिएनन् भनेर पनि अध्ययन भइरहेकाे छ ।