काठमाडौं । साइबर आक्रमण तथा अपराधबाट सिर्जना हुने जोखिम बहन गर्न साइबर सुरक्षा बीमाकाे व्यवस्था गरिने भएको छ । हालै मन्त्रिपरिषद्बाट स्वीकृत राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मा यस्तो बीमाको व्यवस्था गरिने उल्लेख छ । योसँगै साइबर अपराधबाट पीडित व्यक्ति संस्थाले बीमा दाबी गर्नसक्ने भएका छन् ।
उक्त नीतिमा सूचना प्रविधिको माध्यमबाट सिर्जना हुने बौद्धिक सम्पत्ति तथा प्रतिलिपि अधिकार संरक्षणको लागि सम्बन्धित कानूनमा संशोधन र एकीकरण गर्ने योजना पनि अघि सारिएको छ ।
त्यस्तै साइबर अपराध अनुसन्धान, प्रमाण सङ्कलन, अभियोजन तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप कानूनी तथा नीतिगत व्यवस्था गर्ने, साइबर सुरक्षाका मापदण्डहरू कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मापदण्डसमेतका आधारमा राष्ट्रिय साइबर सुरक्षा फ्रेमवर्क तर्जुमा गर्ने लगायतका विषय पनि अटाएका छन् ।