close

१ वर्षमै ब्याट्री क्षमता घटेर ८८ प्रतिशतसम्म झरेको आईफोन १४ प्रयोगकर्ताको गुनासो

टेकपाना टेकपाना

साउन २८, २०८० १८:११

१ वर्षमै ब्याट्री क्षमता घटेर ८८ प्रतिशतसम्म झरेको आईफोन १४ प्रयोगकर्ताको गुनासो

काठमाडौं । आईफोन १४ र आईफोन १४ प्रो म्याक्सका प्रयोगकर्ताले फोन खरिद गरेको एक वर्ष पनि नपुग्दै ब्याट्री हेल्थ ९० प्रतिशतमा सीमित भएको कुरामा गुनासो गर्न थालेका छन् । एप्पलको नयाँ लाइनअप आईफोन १५ सार्वजनिक हुने क्रममा रहेकै बेला यस्ता गुनासो आउन थालेको हो ।  

एप्पल ट्रयाकका साम कोह्लले गत जुलाईमा एक्समा एक पोस्ट गर्दै आईफोन १४ प्रोको ब्याट्री हेल्थ ९० प्रतिशत पुगेको बताएका थिए । आफूले प्रयोग गरेका आईफोनमध्ये सबैभन्दा कम समयमा सबैभन्दा बढी ब्याट्री हेल्थ घट्ने डिभाइस आईफोन १४ प्रो भएको दाबी समेत उनको थियो ।

उनले आफ्नो फोनको ब्याट्री हेल्थ घटेको पोस्ट राखेपछि सयौं प्रयोगकर्ताले आफ्नो पनि आईफोनको ब्याट्री हेल्थ घटेको उल्लेख गरेका छन् । सयौं प्रयोगकर्ताको गुनासो सम्बोधन गर्दै कोह्लले शुक्रवार टिकटकमा फलोअप भिडिओ राखेका छन् ।

सो भिडिओमा पनि उनले एक हजार डलरमा खरिद गरेको फोनको ब्याट्री हेल्थ एक वर्ष पनि नपुग्दै १० प्रतिशतले घट्नु एप्पलको कमजोरी भएको बताएका छन् । “यो फोन एक हजार डलर बराबरको छैन,” उनले टिकटक भिडिओमा भनेका छन्, “त्यसैले म आईफोन १४ कसैलाई पनि खरिद गर्ने सुझाव दिन्न ।”

त्यसो त एप्पलले आधिकारिक रूपमा ब्याट्रीले ५०० साइकल पूरा गरेपछि ब्याट्री हेल्थ ८० प्रतिशतसम्म पुग्ने बताएको छ ।  तर, प्रयोगकर्ताले ५०० साइकल पूरा नहुँदै ब्याट्री हेल्थ घटेको दाबी गर्न थालेका हुन् । 

आईफोन १५ सार्वजनिक हुने तरखरमा छ । विभिन्न स्रोतका अनुसार आईफोन १५ सम्भवतः १२ वा १३ सेप्टेम्बरमा सार्वजनिक हुनेछ । उक्त फोनमा अहिलेका आईफोनको तुलनामा ब्याट्री १० देखि १८ प्रतिशत ठूलो हुने बताइएको छ । 

वाल स्ट्रिट जर्नलका स्तम्भकार जोआन्ना स्टर्नले पनि आईफोन १४ प्रोको ब्याट्री एक वर्ष नबित्दै १२ प्रतिशतले घटेर ८८ प्रतिशत पुगेको बताएका छन् । उनीहरू बाहेक केही अन्य प्रयोगकर्ताले ब्याट्री हेल्थ ९१, केहीले ९३ र केहीले ९७ प्रतिशत पुगेको दाबी गरेका छन् ।

आईफोन १३ को हकमा भने  प्रयोगकर्ताले ब्याट्री हेल्थ घटेको कमै गुनासो गरेका थिए । त्यसमाथि आईफोन १४ वा आईफोन १४ प्रोको वारेन्टी सकिएपछि ब्याट्री परिवर्तन गर्न निकै महँगो पर्छ । द भर्जका अनुसार गत वर्ष आईफोन १३ को ब्याट्रीको मूल्य ६० डलरबाट ३० डलर बढेर अन्त्यमा ९९ डलर पुगेको थियो । 

आईओएस ११.३ अपडेटसँगै कम्पनीले आईफोनमा ब्याट्री हेल्थ मनिटर सुविधा समावेश गरेको थियो । जसको सहायताले प्रयोगकर्ताले ब्याट्री हेल्थ सुधार्न सक्ने कम्पनीको दाबी थियो । कम्पनीले प्रयोगकर्ताको गुनासोलाई लिएर कुनै आधिकारिक स्पष्टीकरण दिइसकेको छैन ।

 

पछिल्लो अध्यावधिक: साउन २९, २०८० ९:४८