close

फेसबुकले डिलिट गर्‍यो ६ लाख मेम्बर भएको चर्चित नेपाली क्रिकेट फ्यान ग्रुप

टेकपाना टेकपाना

भदौ १२, २०८० १३:३७

फेसबुकले डिलिट गर्‍यो ६ लाख मेम्बर भएको चर्चित नेपाली क्रिकेट फ्यान ग्रुप

 

काठमाडाैं । नेपाली क्रिकेट समर्थकमाझ परिचित फेसबुक ग्रुप ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक (एनसीएफएफ)’लाई फेसबुकले हटाएको छ । करिब ६ लाख मेम्बर भएको यो पेज केही दिनअघि फेसबुकले बन्द गरिदिएको हो ।

यो ग्रुपमा क्रिकेट समर्थकहरुले नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पाेस्ट एवं गतिविधि गर्दै आएका थिए । खेलाडीलाई आर्थिक सङ्कट पर्दा सहयोग गर्नेदेखि नेपाली क्रिकेटको विकासका लागि समर्थकको तहबाट विभिन्न काममा हातेमालो गर्ने थलोको रुपमा यो ग्रुप स्थापित भएको थियो ।

१२ वर्ष अगाडि (सन् २०११ मा) खोलिएको यो ग्रुप फेसबुक कपिराइटको कारण बन्द भएकाे बुझिएकाे छ । ​फेसबुकलाई मेल गर्दा पनि ग्रुप रिकभर नभएपछि अहिले उही पुरानो नाम ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक (एनसीएफएफ)’को नामले अर्को फेसबुक ग्रुप खोलिएको छ । 

ग्रुपका एड्मिन एवं क्रिकेट कमेन्टेटर विराटजंग रायमाझीले समर्थकहरुको निरन्तर हौसला, दबाब र प्रेरणा नेपाली क्रिकेटको मेरुदण्ड रहेकाे बताउँदै समर्थकहरुको यही संस्कृतिलाई कायम राख्न पुनः ग्रुपलाई सोही नामका साथ सुरुवात गरिएकाे बताए ।

''नेपाली क्रिकेट टिमसँग हाल एकदिवसीय मान्यता प्राप्त छ, टी-ट्वान्टी विश्वकपमा समेत सहभागिता जनाइसकेको छ भने पहिलो पटक एसिया कप खेल्दैछ । यो बीचमा नेपाली क्रिकेटलाई माया गर्नेको संख्या निकै ठूलो छ र क्रिकेट देशकै लोकप्रिय खेल बनिसकेको छ । नेपाली क्रिकेटलाई अघि बढाउन समर्थकहरूको ठूलो भूमिका छ र रहनेछ । समर्थकहरूको निरन्तर हौसला, दबाब र प्रेरणा नेपाली क्रिकेटको मेरुदण्ड हो । त्यसैले समर्थकहरुको यही संस्कृतिलाई कायमै राख्ने उद्देश्यले पुनः ग्रुपलाई सोही नामका साथ पुनः सुरुवात गरेका छौँ । आउनुस् यो अभियानमा सँगै अघि बढौं,'' रायमाझीले आफ्नो फेसबुक पाेस्टमा भनेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १३:४९