close

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालन हुने, एनसेलबाट गर्दा समेत फोन लाग्ने

टेकपाना टेकपाना

भदौ १७, २०८० १४:१४

आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालन हुने, एनसेलबाट गर्दा समेत फोन लाग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार'को सेवालाई तीन सिफ्टमा विस्तार एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तारित गरिएको कार्यक्रममा आजदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ । यससँगै गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

"नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ," उनले भने, "यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रूपमा विकास गर्नुपर्ने नै छ । यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृत्रिम बौद्धिकतासँग आवद्वता गर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउडसोर्स गभर्नेन्सका रूपमा विकास गर्न अपरिहार्य छ ।"

हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको उनले सुनाए । प्रचण्डका अनुसार त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधा सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए । उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १५:१६