काठमाडौं । रुसी ह्याकर समूहको नियन्त्रणमा परेर बन्द भएको ‘हेलो सरकार’ वेबसाइट करिब एक महिनापछि सामान्य अवस्थामा फर्किएको छ । सरकारी सेवासम्बन्धी गुनासो संकलन र सम्बोधनको लागि सञ्चालन गरिएको वेबसाइट २७ फागुनदेखि बन्द थियो ।
हेलो सरकार ह्याक भएको समाचार बाहिरिएपछि सरकारले अध्ययन समिति गठन गरी सोमबारबाट वेबसाइट सञ्चालनमा ल्याएको हो ।
‘फेन्सी बियर्स एपीटी २८’ नामक ह्याकर समूहअन्तर्गत रहेको ‘घुद्रा’ समूहले हेलो सरकारको सिस्टम ह्याक गरेको दाबी गर्दै ब्रिच फोरममा संवेदनशील डेटा बिक्रीमा राखेको थियो ।
ह्याकरले पोस्टमार्फत आफूहरूसँग वेबसाइटको फाइल मेनेजर, सुरक्षासम्बन्धी जानकारी, डेटाबेस ब्याकअप, युजरनेम, पासवर्ड, इमेल र मोबाइल नम्बरसहितको जानकारी रहेको दाबी गरेका थिए । साथै, ४९.९८ जीबी क्षमताको सर्भर स्टोरेजमा ८.३२ जीबीमात्रै बाँकी रहेको स्क्रिनशट सार्वजनिक गरिएको थियो ।
ह्याकरले एक लाख प्रयोगकर्ताको डेटा आफूसँग रहेको दाबी गरेपनि सरकारले यस विषयमा आधिकारिक जानकारी दिएको छैन ।
ह्याकरले ब्रिच फोरममा नेपाल सरकारको डेटाको पहुँच भएको भन्दै त्यसको मूल्य १,००० डलर तोकेको थियो । साथै, ‘लाइभ शेल एक्सेस’ को लागि १,३०० डलर तिर्नुपर्ने उल्लेख गरिएको थियो ।