close

एनएमबी बैंकको क्यूआर राख्दा बिना धितो बैंक नगएरै दुई लाख रुपैयाँसम्मको कर्जा

टेकपाना टेकपाना

भदौ १८, २०८० १५:३६

एनएमबी बैंकको क्यूआर राख्दा बिना धितो बैंक नगएरै दुई लाख रुपैयाँसम्मको कर्जा

काठमाडौं । एनएमबी बैंकको क्यूआर कोड राख्दा बिना धितो दुई लाख रुपैयाँसम्मको कर्जा पाउन सकिने भएको छ । बैंकले सजिलो क्यूआर कर्जा कार्यक्रम अन्तर्गत यस्तो सुविधा ल्याएको हो । 

यो सुविधा आफ्नो व्यापार तथा व्यवसायको अनलाइन भुक्तानीका लागि एनएमबी बैंकको क्यूआर कोड राख्नेहरूले मात्रै पाउने छन् । यस्तो कर्जा धितो बिना मात्र नभई छिटो, आवश्यक कागजात झन्झट बिना डिजिटल माध्यमबाटै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसका लागि व्यवसाय एकल स्वामित्व तथा साझेदारीमा सञ्चालित व्यवसायिक कम्पनीको रूपमा रहेको हुनुपर्छ । साथै एनएमबी क्यूआरमार्फत कम्तिमा एक वर्षदेखि सक्रियता पूर्वक कारोबार गरेको र प्रमाणित केवाईसीसहित एनएमबी बैंकमा खाता समेत खोलेको हुनुपर्छ । 

तर अन्य कागजात भने आवश्यक नपर्ने बैंकले जनाएको छ । तीन महिनादेखि बढीमा २४ महिनासम्मका लागि यस्तो कर्जा उपलब्ध हुनेछ । 

 

कसरी लिने एनएमबीको सजिलो क्यूआर कर्जा ? 

यस्तो कर्जा लिन बैंकसम्म पुग्नु र कुनै कागजात जुटाउनु पर्दैन । केवल एसएमएसमा प्राप्त हुने लिंक पच्छ्याएर स्वचालित र झन्झट रहित ढङ्गले ऋण प्राप्त गर्न सकिन्छ । 

यस्तो ऋणको सीमा १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँ रहेको छ । यस्तो ऋण कतिसम्म पाउनेभन्ने कुरा व्यवसायको नियमित क्यूआर कारोबारमा निर्भर हुने गर्छ । 

"यो ऋण प्रक्रियामा कतै पनि मानवीय संलग्नता हुँदैन," एनएमबी बैंकका एमएसएमई तथा एसएमई प्रमुख उत्सव घिमिरेले टेकपानासँगको कुराकानीमा भने, "यो पूर्ण रूपमा डेटाबाट सञ्चालित लोन हो ।"

जुन किस्ताबन्दीको रूपमा फिर्ता गर्न सकिनेछ । कर्जाको ब्याज सम्बन्धी जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १५:३६