close

भारतीयलाई ठग्न नेपालमा अवैध कल सेन्टर, एनसेलका ३७०० सिमकार्ड सहित २० वर्षीय थापा पक्राउ

टेकपाना टेकपाना

भदौ २९, २०८० १७:४५

भारतीयलाई ठग्न नेपालमा अवैध कल सेन्टर, एनसेलका ३७०० सिमकार्ड सहित २० वर्षीय थापा पक्राउ

काठमाडौं । नेपालमा अवैध रूपमा कल सेन्टर सञ्चालन गरी रकम सङ्कलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधवार सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौं बस्दै आएका २० वर्षीय मिलन थापालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार आरोपित थापाले आफ्नो कोठामा अवैध रूपमा कल सेन्टर सञ्चालन गर्दै आएका थिए । "पछिल्लो समय भारतमा लोन एप प्रकरण बढ्दो छ," रेग्मीले भने, "विभिन्न एपले प्रयोगकर्तालाई ऋण दिने र पछि असुल गर्न ब्ल्याकमेल गर्ने घटना सुन्नमा आएका थिए । त्यस्तो किसिमको कार्य नेपालबाटै भइरहेको छ भन्ने सूचना आएपछि हामी अनुसन्धानमा लागेका थियौं ।"

अनुसन्धानका क्रममा मिलन थापाले कीर्तिपुर नगरपालिका पाँगामा डेरा गरी बसेकाे कोठाबाट गैरकानूनी रूपमा कल सेन्टर सञ्चालन गरिरहेको फेला पारेपछि पक्राउ गरिएको प्रवक्ता रेग्मीले जानकारी दिए ।

पक्राउ परेका थापाबाट प्रहरीले एनसेलका ३७०० थान सिम, २३ ओटा ल्यापटप र विभिन्न व्यक्तिका ३७ थान नागरिकता बरामद गरेको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार यो प्रकरणमा हालसम्म नेपाली नागरिक ठगिएको देखिएको छैन । अहिले नेपालमा चिनियाँ नागरिककै सहायताले यस्तो कल सेन्टर सञ्चालन भइरहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: भदौ २९, २०८० १७:५०