close

सोमबारदेखि सबैलाई आईओएस १७ उपलब्ध गराउँदै एप्पल, के-के छन् फिचर ?

टेकपाना टेकपाना

भदौ ३०, २०८० २३:३

सोमबारदेखि सबैलाई आईओएस १७ उपलब्ध गराउँदै एप्पल, के-के छन् फिचर ?

काठमाडौं । एप्पलले आधिकारिक रुपमा आउँदो सोमवार अर्थात् सेप्टेम्बर १८ मा आईओएस १७ सार्वजनिक गर्ने भएको छ । गोपनीयता, सुरक्षा लगायतका विभिन्न आकर्षक फिचर सहित एप्पलले आईओएस १७ को पूर्ण भर्सन सार्वजनिक गर्न लागेको हो ।

यसअघि गत जेठमा भएको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२३ मा एप्पले परीक्षणका लागि यसको बेटा भर्सन उपलब्ध गराएको थियो । अब भने पाँच वर्ष पुराना आईफोनमा समेत आउने गरी आईओएस १७ एप्पलले जारी गर्न लागेको हो । यसमा हुने आकर्षक फिचरहरू यस प्रकार रहेका छन्: 

स्ट्यान्डबाई

एप्पलले आईओएस १७ मा स्ट्यान्डबाई फिचर थप गरेको छ । यो फिचर एप्पल वाचको नाइटस्ट्यान्ड मोड जस्तै हो । यो फिचर इनेबल गर्दा फोन चार्जिङको अवस्थामा हुँदा पनि लकस्क्रिनमा एकै पटक क्यालेन्डर, समय, मौसमको विवरण र अन्य गतिविधिको नोटिफिकेसन हेर्न सकिन्छ ।

कम्पनीले आईफोन १४ प्रोमा 'अल्वेज अन डिस्प्ले' को रुपमा यो फिचर दिएको छ । यद्यपि आईओएस १७ को अपडेटसँगै आईफोन १४ प्रो भन्दा पुरानो फोनमा यो फिचर स्ट्यान्डबाईको रुपमा प्रयोग गर्न सकिन्छ ।

लाइभ भ्वाइस मेल 

आईओएस १७ मा आईफोन प्रयोगकर्ताले लाइभ भ्वाइस मेल फिचर प्रयोग गर्न पाउनेछन् । यसरी पठाइएको भ्वाइस मेल कलस्क्रिनमा मेसेजको रुपमा पढ्न सकिन्छ ।

फोन उठाएको नपाएको खण्डमा यो फिचर प्रयोग गर्न सकिन्छ । साथै भ्वाइस मेल आउँदा आउँदै प्रयोगकर्ताले फोन रिसिभ पनि गर्न सक्नेछन् ।

इन्टरयाक्टिभ विजेट

आईओएस १७ को अपडेसँगै अब आईफोनको होम स्क्रिन तथा लकस्क्रिनमा नै विजेटमा भएका एपहरू त्यही नै प्रयोग गर्न सकिने भएको छ । यसको लागि एप खोलिरहनुपर्ने झन्झट हुँदैन ।

एप्पल टिभीमा फेसटाइम

यदि तपाईँ आईफोनको फेसटाइम (एप्पलको भिडिओ कल फिचर) प्रयोग गर्नुहुन्छ र ठूलो स्क्रिनमा फेसटाइम गर्न चाहनुहुन्छ भने यसको लागि आईओएसमा नयाँ व्यवस्था उपलब्ध छ ।

यसबाट प्रयोगकर्ताले आफ्नो आईफोनलाई आफ्नो एप्पल टिभीमा कनेक्ट गरेर आईफोनको फेसटाइम टिभीमा गर्न सक्नेछन् । साथै कम्पनीले एप्पल टिभी फेसटाइमको लागि मात्र फरक फिचर पनि ल्याएको  छ ।

किबोर्ड अपडेट

आईओएसमा १७ मा किबोर्ड पनि अपडेट गरिएको छ । जस अन्तर्गत अटोकरेक्सन फिचरको लागि मसिन लर्निङ मोडेल प्रयोग भएको छ ।

यससँगै प्रयोगकर्ताले आफ्ना वाक्यहरू पहिलेभन्दा छिटो पूरा गर्न सक्छन् भने कुनै वाक्यहरू त्यहाँ दिइएको सुझाव अनुरुप ट्याप गरेकै भरमा लेख्न सकिन्छ ।

थर्ड पार्टी स्टोरबाट पनि एप डाउनलोड

अब एप्पल प्रयोगकर्ताले पनि आफ्नो आईफोन र आईप्याडमा एन्ड्रोइड प्रयोगकर्ताले जस्तै कुनै वेबसाइट अथवा थर्ड पार्टी स्टोरबाट एपहरू डाउनलोड गर्न सक्छन् । युरोपियन युनियनको नियमलाई अनुसरण गर्दै कम्पनीले यो फिचर थप गरेको हो ।

आईओएस १७ मा केही फिचर भने एन्ड्रोइडमा पहिलेदेखि नै भएका फिचर पनि छन् । यसलाई आईफोन एक्सएसभन्दा माथिका आईफोनहरूमा अपडेट गर्न सकिन्छ ।

यी माथिका बाहेक हेल्थ एपबाटै आफ्नो मुड (मनस्थिति) ट्रयाक गर्न मिल्ने, जर्नल एप, बच्चालाई नजिकैबाट फोन हेर्न नदिने स्क्रिन डिस्ट्यान्स, मेसेज एपमा चेकइन, अफलाइन म्याप, संवेदनशील सामग्रीका विषयमा चेतावनी दिने 'हे सिरी' को साटो 'सिरी' मात्र भन्न सकिने लगायतका विभिन्न फिचरहरु उपलब्ध हुनेछन् ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० २३:१३