close

बैंकको कमजोरी पत्ता लगाएर सिम डुप्लिकेसन गरी ६ लाख चोरी गर्ने २० वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

असोज १, २०८० १८:१७

बैंकको कमजोरी पत्ता लगाएर सिम डुप्लिकेसन गरी ६ लाख चोरी गर्ने २० वर्षीय युवक पक्राउ

काठमाडौं । सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका घर भई काठमाडौं बस्दै आएका २२ वर्षीय सरोज दिवालीलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता एवम् पहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार आरोपी दिवाली सबैभन्दा पहिले बैंकमा अर्कैको नम्बर राखेर बैंक अकाउन्ट बनाउँथे ।

“यसमा नयाँ फन्डा जोडिएको छ,” रेग्मीले भने, “यसका लागि सबैभन्दा पहिले उसले बैंकमा अकाउन्ट बनाउने बेला अरूकै नम्बर राख्ने रहेछ । यता सिम निकाल्ने बेला बैंकको एप्रुभल भयो भने सिम प्रदायक कम्पनीले सिम उपलब्ध गराउने रहेछन् ।”

यसरी बैंकबाट एप्रुभल लिएर दिवालीले पीडितको नामको सिम निकाले । अर्काको नाममा सञ्चालन भइरहेको सिम निकाल्नुलाई सिम डुप्लिकेसन भनिन्छ ।

प्रहरीका अनुसार त्यही सिममार्फत पीडितको बैंक अकाउन्ट तथा वालेटमा पहुँच लिएर विभिन्न समयमा छ लाख दुई हजार ५४८ रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

दिवालीमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १, २०८० १८:१७