close

टेकपाना पाँचौं वर्षमा

सम्पादकीय

टेकपाना टेकपाना

असोज २, २०८० ९:५७

टेकपाना पाँचौं वर्षमा

प्रविधिले नेतृत्व गरिरहेको वैश्विक प्रणाली अनुकूलको पत्रकारितालाई नेपालको सन्दर्भमा पनि विस्तार गर्ने अभिलाषाले आज चार वर्ष पूरा गरेको छ । टेकपाना डटकमको नाममा सुरु भएको त्यो अभिलाषाका विगत चार वर्ष नेपालको विधागत पत्रकारिताकै लागि एउटा फरक प्रयोग र अनुभवका रूपमा स्थापित भएको हामीले ठानेका छौं । विशिष्टिकृत र समयानूकुलको यो पत्रकारिता यात्रामा साथ दिनुहुने टेकपानाका पाठक, दर्शक र सम्पूर्ण शुभेच्छुकलाई हामी हृदयपटलबाटै आभार व्यक्त गर्न चाहन्छौं । टेकपानाको पत्रकारिता शैलीलाई यहाँहरूले दर्शाउनुभएको शुभेच्छा नै भविष्यमा प्रविधि पत्रकारितालाई अझ बढी सुदृढ र उत्कृष्ट बनाउने हाम्रो प्रतिबद्धताको भरपर्दो आधार बनेको छ । 

‘प्रविधिको ज्ञान नेपालीमै’ भन्ने मन्त्रका साथ सुरु भएको हाम्रो पत्रकारिताले सूचना प्रविधिका समकालीन विषयवस्तुमा गहनतम् समाचार सम्प्रेषण गर्नेबाहेक प्रविधिको सही उपयोग बढाउन ज्ञानमूलक सामग्रीलाई उत्तिकै महत्त्व दिएको यहाँहरूलाई विदितै छ । प्रविधिको उपयोगमा आएको बदलावलाई समेत बुझेर टेकपानाका सामग्रीलाई फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र आधिकारिक भाइबर ग्रुपबाट समेत पाठकको रूचि अनुकूल हामी उपलब्ध भइरहेका छौं । प्रविधिलाई नेपाली सन्दर्भमा बुझाउन आवश्यक ठानेर भिडिओ सामग्रीमा टेकपानाले दिएको समानान्तर प्राथमिकताले प्रभावशाली उपस्थिति जनाउने अवस्था बनेको छ । हाम्रो आधिकारिक युट्यब च्यानलमा रहेका एक हजार एक सयभन्दा बढी भिडिओ सामग्री हाम्रो प्राथमिकताका बलिया प्रमाण पनि हुन् । 

पाँचौं वर्ष प्रवेशको यो अवसरमा हामी हाम्रा पाठकसमक्ष थप प्रगाढ सम्बन्धको पहलमा छौं । टेकपानाले सम्प्रेषण गर्ने सामग्री मात्र होइन, पाठकहरूको बदलिँदो रूचिसँग हामी प्रत्यक्ष परिचित हुन चाहन्छौं । त्यसका लागि यहाँहरूले खोजेको, चाहेको सामग्रीको विषयमा टेकपानालाई प्रत्यक्ष जानकारी गराउन सक्नुहुन्छ । स्थानीय स्तरमा प्रविधिको उपयोग र प्रयोगका विषयमा टेकपानाका सामग्रीलाई केन्द्रित गर्ने प्रयास सुरु गरेका छौं । त्यसका लागि यहाँहरूको भूमिका अपेक्षित छ ।  हाम्रो आधिकारिक वेबसाइट र विभिन्न माध्यममा रहेको सम्पर्क ठेगानाबाट यहाँहरूले त्यस्ता विषय जानकारी गराउन सक्नुहुन्छ ।

प्रविधिलाई मूलधारको पत्रकारिताका रुपमा स्थापित गर्ने हाम्रो प्रयासले आकार लिइसकेको छ । पत्रकारिताका मूलभूत सिद्धान्त र आचारसंहिताप्रतिको हाम्रो प्रतिबद्धता उत्तिकै बरकरार छ । पाँचौं वर्ष प्रवेश यो यात्रासम्म साथ दिनुहुने पाठक, दर्शक, विज्ञापनदाता, समाचार स्रोत र सरोकारवाला सबैलाई पुनः एकपटक आभारसहित धन्यवाद । 

गोपाल साउद 
सम्पादक
टेकपाना डटकम​

पछिल्लो अध्यावधिक: असोज ३, २०८० १०:३३