काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरलाई कुटेँ भनेर सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
इन्स्पेक्टरकाे भिडिओ भाइरल भएपछि छानबिन तथा अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले टेकपानालाई जानकारी दिए ।
“भिडिओ बाहिरिएपछि उनलाई आज निलम्बन गरिएको हो । निलम्बनको अवधि छ महिनाको हुन्छ । तर त्यो घटनामा उनको संलग्छ छ/छैन अनुसन्धान गरेपछि मात्र वास्तविक कुरा थाहा हुन्छ,” उनले भने ।
मणिपालमा उपचाररत ५७ वर्षीय महिलाको असोज ८ गते मृत्यु भएपछि मृतकको आफन्त तथा परिवारले उपचारमा संलग्न डा. अनिल शाहमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोडसमेत गरेका थिए । सोही घटनालाई लिएर इन्स्पेक्टर श्रेष्ठले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।