close

हाम्रो पेबाट अब अन्य वालेटहरूमा रकम पठाउन सकिने

टेकपाना टेकपाना

असोज १३, २०८० १०:२८

हाम्रो पेबाट अब अन्य वालेटहरूमा रकम पठाउन सकिने

काठमाडौं । हाम्रो पात्रोको डिजिटल वालेट हाम्रो पेमार्फत अब अर्को वालेटमा रकम पठाउन सकिने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतिले लिङ्क्डइनमा एक पोस्ट राख्दै नयाँ फिचरको घोषणा गरेका हुन् ।

"हामी डिजिटल वालेटहरूबीच अन्तरसञ्चालन सेवा ल्याउने पहिलो वालेटमध्ये एक हुन पाउँदा धेरै गौरवान्वित छौं," उप्रेतीले भनेका छन्, "अब हाम्रो पे प्रयोगकर्ताहरूले २० भन्दा बढी वालेटमा रकम पठाउन सक्नेछन् ।" 

उप्रेतीले २० ओटाभन्दा बढी वालेटमा पठाउन सकिने सुविधा छ भनेको भए पनि सो सूचीमा १२ ओटा वालेटको नाम राखिएको छ । जसमा आईक्याश, सजिलो पे, एन क्याश, नमस्ते पे, खल्ती, आईएमई पे, क्यू पे, प्रभु पे, सेल पे, पेवेल, मोरु तथा माईपे मात्र रहेका छन् ।

नेपालको प्रमुख मध्येको एक वालेट ईसेवा भने सो सूचीमा समावेश छैन । यसबारे कम्पनीले पनि कुनै आधिकारिक धारणा दिएको छैन । यसअघि मोरु डिजिटल वालेटले वालेटहरूबीच अन्तरसञ्चालनको सुविधा ल्याएको थियो ।

यससँगै अब हाम्रो पे वालेट प्रयोगकर्ताले पनि आफूले चाहेको विभिन्न वालेटमा हाम्रो पेमार्फत रकम पठाउन सक्ने भएका छन् । यसका लागि सबैभन्दा पहिले प्रयोगकर्ताले हाम्रो पात्रोमा गई हाम्रो पेको अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि सेन्ड मनीमा जानुपर्ने हुन्छ ।

यति गरेपछि वालेट छान्ने अप्सन दिइएको हुन्छ । वालेट छानिसकेपछि प्रयोगकर्ताले सो वालेटको खोलिएको फोन नम्बर राख्नुपर्ने हुन्छ । त्यसपछि आफूले रकम पठाउन चाहेको वालेट छान्नुहोस् । अनि रकम पठाउनुको प्रयोजन छनोट गरी रिमार्क्स राखेर कन्फर्म गर्नुहोस् । यति गरेपछि पिन नम्बर राखेर रकम पठाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८० ११:३९