close

५ अर्ब नाघ्यो गुगल मेसेजको डाउनलोड, एसएमएसको यो पछिल्लो प्रविधि तपाईंकोमा छ कि छैन ?

टेकपाना टेकपाना

असोज १५, २०८० १९:२१

५ अर्ब नाघ्यो गुगल मेसेजको डाउनलोड, एसएमएसको यो पछिल्लो प्रविधि तपाईंकोमा छ कि छैन ?

 

काठमाडौं । गुगल मेसेज एप पाँच अर्ब पटक डाउनलोड भएको छ । नाइन टु फाइभले हालै एक रिपोर्ट प्रकाशित गर्दै गुगल मेसेज एपको नयाँ कीर्तिमान बारेको जानकारी दिएको हो । 

पहिले एन्ड्रोइड मेसेजका रूपमा परिचित यो एप एसएमएस, एमएमएस तथा आरसीएस मेसेज आदानप्रदान गर्नेहरूका लागि निकै उपयुक्त माध्यम बनेको छ । विशेषगरी यो प्लेटफर्मको साधारण इन्टरफेस तथा उपयोगी फिचरका कारण यो एप चर्चित छ । 

त्यसबाहेक पनि यो एप प्रयोगकर्ताले मोबाइल,कम्प्युटर, म्याक तथा क्रोमबुकबाटै प्रयोग गर्न सक्छन् । गुगल प्लेस्टोरमा प्रायः सबै एप कति पटक इन्स्टल भएका छन् भन्ने कुरा हेर्न सकिन्छ । 

यदि कुनै डिभाइसमा एप प्रि-इन्स्टल भएको छ भने पनि त्यो सङ्ख्या डाउनलोडमै जोडिएको हुन्छ । त्यसैले प्लेस्टोरमा एप कतिपटक डाउनलोड भएको छ भन्ने यकीन आँकडा भन्दा पनि १००‌, १०००, दश हजार, एक लाख, पाँच लाख, १० लाख, एक करोड जस्ता वरपरको सङ्ख्यामा देखिन्छ । 

नाइन टु फाइभ गुगलका अनुसार सन् २०२० मा सो एपले एक अर्ब इन्स्टलको आँकडा पार गरेको थियो । त्यसको तीन वर्षभित्र सो एप पाँच अर्ब पल्ट इन्स्टल भएको हो । 

गुगल मेसेज केही एन्ड्रोइड डिभाइसमा पहिले नै इन्स्टल भएको हुन्छ भने केहीमा प्रयोगकर्ताले पछि आफैं इन्स्टल गर्नुपर्ने हुन्छ । विशेषगरी गुगलको पिक्सेल फोनमा यो एप प्रि‍-इन्स्टल भएर आउँछ । 

सामसङले ग्यालेक्सी एस २२ सिरिजमा पनि सो एप डिफल्ट मेसेजिङ एप बनाइएको छ । त्यसबाट पनि गुगल मेसेजले थप चर्चा पाएको थियो । 

पछिल्लो समय एन्ड्रोइड फोनमा उपलब्ध हुने मेसेजिङ एपमा एसएमएसको सुविधा मात्र दिइएको हुन्छ । त्यसैले पनि आधुनिक मेसेजिङको अनुभव लिन प्रयोगकर्ता गुगल मेसेज प्रयोग गर्छन् । यसको सहायताले इन्टरनेट हुँदा आरसीएस मेसेज पठाउन सकिन्छ भने इन्टरनेट नहुदाँ एसएमएसको रूपमा जान्छ । 

पछिल्लो अध्यावधिक: असोज १५, २०८० २०:१४